अल्का र अभिजितको मन भए पिरती

काठमाडौं । भारतीय गायिका अल्का याग्निकको स्वरमा रहेको नेपाली गीत ‘मन भए पिरती’ सार्वजनिक भएको छ । बलिउडमा हजारौ हित गीत गाएकी उनले नेपाली गीत गाएको भने यो पहिलो पटक हो। उनले यो गीत भारतकै अर्का गायक अभिजित भट्टाचार्यसँग गाएकी हुन् ।

भट्टाचार्यले दिवङ्गत अभिनेता श्रीकृष्ण श्रेष्ठको फिल्म ‘कोहिनूर’मा पार्श्व गायन गरेपछि गाएको यो अर्को नेपाली गीत हो । सो गीत रिभाइभ एल्बममा समावेश छ।

एबी ड्रिम्स क्रिएसन नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको उक्त गीतमा मणि शर्मा रिजालको शब्द र क्रिश रिजालको संगीत रहेको छ । भारतको मुम्बईमा अवस्थित एबी स्टुडियो एण्ड साना स्टुडियोमा सो गीत रेकर्ड भएको हो। उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र लचु शर्माको अभिनय रहेको छ।

भिडियोमा सुरेन्द्रमन सिंहको छायाङ्कन तथा सम्पादन र बिशाल गुरुङको निर्देशन छ ।