काठमाडौं । निर्देशक दिपेन्द्र के खनाल निर्देशित बहुप्रतिक्षित फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को सोमबार साँझ पशुपतिमा क्षमा पूजा गरिएको छ । फिल्मको निर्माण टिमले आयोजना गरेको क्षमा पूजा कार्यक्रममा लेखक तथा निर्माता खगेन्द्र लामिछाने, अभिनेत्री स्वस्तिमा खड्का, निर्देशक खनाल, वितरक करण श्रेष्ठ र प्रोडक्सन म्यानेजर शंकर पाण्डे सहभागी थिए ।
लेखक तथा निर्माता लामिछानेले फिल्मको पशुपति क्षेत्रमा करिब ६५ दिन छायांकनका क्रममा केही गल्ती कमजोरी भएको खण्डमा माफी पाउँ भनी क्षमा पूजा गरिएको बताए । मान्छेबाट जान अन्जानमा गल्ती हुने भएकाले यदी त्यसो भएको भए भोलीमा दिनमा कुनै क्षेती नहोस भनेर क्षमा पूजा गर्ने चलन रहेको उनको भनाई छ ।
फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्काले आफुले कुनै फिल्मको लागि क्षमा पूजा गरेको पहिलो अनुभव भएको बताइन् ।
फिल्ममा स्वस्तिमा खड्काका अलवा विपिन कार्की, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । फिल्ममा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।
टुकी आट्र्सको ब्यानरमा निर्माण भएको फिल्मलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्मको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।
व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल फिल्म ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो । फिल्मलाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।