चौथो सातामा दिमाग खराब

काठमाडौँ । नेपाली फिल्मको कथ्य शैली, पात्रको स्वरूप, निर्माण शैली (मेकिङ) लगायतमा परिवर्तन ल्याउने फिल्म ‘लुट’ मार्फत निर्देशनमा उदाएका निर्देशक निश्चल बस्नेतले निर्देशन गरेको फिल्म ‘दिमाग खराब’ चौथो सातामा प्रदर्शनरत छ ।

गत कात्तिक २४ गतेदेखि प्रदर्शन भइरहेको फिल्मले घरेलु बजारमा राम्रो व्यापार गरिरहेको निर्माता रौनकविक्रम कँडेलले दिए । ‘फिल्मलाई दर्शकले नै सिफारिस गर्नुभएपछि फिल्म सफल भएको हो । यसको घरेलु व्यापारसँगै विदेश भइरहेको प्रदर्शनले हामी खुसी छौँ’, निर्माता कँडेलले भने ।

निर्देशक बस्नेतले आममानिस र शक्तिमा रहेको मानिसबीचको भिन्नतालाई फिल्ममा देखाउने कोशिस गरेको जानकारी दिए । ‘म आम मानिसकै कथा भन्न रुचाउँछु । त्यसैले गर्दा केही ढिलाइ भयो होला, तर त्यो तयारीको समय थियो’, निर्देशक बस्नेतले भने, ‘मेरो कोसिस रमाइलोसँगै राम्रो फिल्म बनाउने हुन्छ । यसपटक पनि त्यहीँ प्रयास गरेँ । देशको परिस्थितिले एउटा सरल जीवन चाहने आममानिसको दिमाग खराब गरिरहेको सन्दर्भ फिल्ममा छ ।’

उनले फिल्ममा एउटा साधारण मान्छेको जीवनशैली, दायित्व र उतारचढावलाई देखाइएको बताए । फिल्ममा दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, सुमन कार्की, विजय बराललगायतका कलाकारले अभिनय गरेका छन् ।