डिग्री माइलामा गम्भीर दयाहाङ

काठमाडौं । रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’को फस्ट लुक पोस्टर रिलिज भएको छ ।

सार्वजनिक पोस्टरमा फिल्मका शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई एकल रुपमा प्रस्तुत गरिएको छ। पोस्टरमा उनलाई काठको बेन्चीमा गम्भिर मुद्रामा केही सोचिरहेको अवस्थामा देख्न सकिन्छ। उनले चश्मासमेत लगाएका छन्। योसँगै उनलाई जुँगा पालेको पनि देख्न सकिन्छ।

बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ। यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ।

सोही नाटकलाई फिल्मका रुपमा पर्दामा प्रस्तुत गर्न लागेको बताइन्छ। फिल्मले ‘डिग्री माइला’को माध्यमबाट बेरोजगारीसँगै नेपाली समाजको चित्र पस्किनेछ ।

बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्ले फिल्म निर्माणका लागि सुस्मा फिल्मस्सँग सहकार्य गरेको छ ।

फिल्ममा दयाका अलावा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ ।

फिल्मले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ। फिल्म आगामी नेपाली नयाँ वर्षमा रिलिज हुनेछ ।