द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १ मा सौगातको सौर्य रुप

काठमाडौं । फिल्म ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’को फस्टलुक रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ ।

फिल्मका नायक सौगात मल्लको दुई गेटअप सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति पक्का गरिएको हो । यो फिल्मलाई फागुनको १८ गतेबाट नेपालसँगै विश्वभर रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ ।

सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको फस्टलुकमा नायक सौगात मल्ललाई ‘सौर्य’पात्रको रुपमा चित्रित गरिएको छ । एउटा लुक्समा सौगातको कसिलो शरीर देख्न सकिन्छ । जहाँ, उनको एक्सन देख्न सकिन्छ । अर्को लुक्समा भने उनी गोरखपुरको रेलवे अगाडि हिडिरहेको देख्न सकिन्छ ।

निर्माणपक्षले दिएको जानकारी अनुसार, यो फिल्मका लागि सौगातले सुरुवातमा करिब २० केजी तौल घटाएका थिए । पछि, फेरि सौगातले १० केजी तौल बढाएका थिए ।

फिल्ममा सौगातको साथमा नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरि, विजय बराल, रविन्द्र झा लगायतका कलाकारको पनि अभिनय छ । फिल्ममा संजय लामाको छायांकन छ ।

फिल्म डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको हो । फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । फिल्मलाई नेपालभर डीसीएनले वितरण गर्नेछ ।