रङ्गेलीका दुई पोस्टर सार्वजनिक

काठमाडौं । अभिनेता दयाहाङ राई, अर्पण थापा र अभिनेत्री मिरुना मगरलाई प्रस्तुत गर्दै नेपाली फिल्म ‘रङ्गेली’का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । एक पोस्टरमा अभिनेताद्वय दयाहाङ र अर्पणलाई आमनेसामने बनाइएको छ भने अर्को पोस्टरमा दयाहाङ र मिरुनाको प्रेम झल्काइएको छ । यसअघि प्रवीण खतिवडासहित राई, थापा र मगरका पात्र अनुसारका पोस्टर सार्वजनिक गरिसकिएको छ ।

आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने यस फिल्मको यसै साता टिजर सार्वजनिक गर्ने तयारी रहेको निर्देशक अर्जुन सुवेदीले बताए । सुवेदीकै लेखन रहेको फिल्ममा अर्पण, दयाहाङ, मिरुना, प्रवीण, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । यस फिल्मका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।

अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर हुने यो फिल्म नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ ।

जापान, कोरिया र हङकङमा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा एक्का बास्सा इन्टरटेन्मेन्ट र लाइभ एट प्रिजेन्टले फिल्म रिलिज गर्दैछन् । ओएसआर डिजिटल फिल्मको डिजिटल वितरक हो ।