काठमाडौं । यही पौष २७ गतेबाट फिल्म ‘पर्खि बसें तिमीलाई’ रिलिज हुँदैछ । यो फिल्ममार्फत नाट्य कलाका किरण श्रेष्ठ अभिनेताका रुपमा नेपाली फिल्ममा डेब्यू गर्दैछन् । झण्डै सात वर्षदेखि मण्डला थिएटरमा आबद्ध उनले नाट्य करियरमा झण्डै १३ बढी नाटकमा अभिनय गरे ।
उनले हालसम्म फिल्मकै लागि झण्डै ७० को हाराहारीमा अडिसन दिए । तर फिल्म ‘पर्खि बसें तिमीलाई’मा उनी छानिए । ‘मैले धेरै फिल्मका लागि अडिसन दिएँ । तर कुनै पनि फिल्ममा छनोट हुन सकिनँ’, किरणले भने,‘यसपटक राम्रो टिमसँग काम गर्नका लागि जुरेको रहेछ । मेरो अडिसनको काम मनपराउनु भएपछि यो फिल्ममा जोडिएँ ।’
यो फिल्ममा दीपक श्रेष्ठको निर्देशन छ । दीपकले झण्डै १३ वर्षअघि निर्देशन गरेको फिल्म ‘पर्खि बसें’ को नाम सापट लिएर अहिले निर्माता राजाराम बुढाथोकीले ‘पर्खि बसें तिमीलाई’ निर्माण गरेका हुन् ।
फिल्ममा किरणले पठाओ चालकको भूमिकामा अभिनय गरेका छन् । ‘पठाओ चलाईरहँदा एकदिन आभा अर्थात् रक्षासँग भेट हुन्छ । त्यही भेटघाटले महसुश गराउने प्रेम र त्यसमा आउने उतारचढावमा फिल्म केन्द्रीत छ’, आफ्नो चरित्रबारे किरण भन्छन् ।
दीपकले ‘पर्खि बसें’बाट राजबल्लभ कोइराला र युना उप्रेतीलाई नेपाली फिल्म क्षेत्रमा भित्र्याएका थिए । यसपटक उनले किरण र अभिनेत्री रक्षा बुढाथोकीलाई भित्र्याएका छन् ।
रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।
यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।
यसको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । फिल्म काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्ट मार्फत र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ ।