काठमाडौँ । आमाबाबुको सपना बुढेसकालको सहारा छोरा । तर त्यही छोराले आमाबाबुलाई गरेको अपहेलनाको कथा समाजमा छरपष्ट छन् । त्यस्तै कथा बोकेको एक मार्मिक गीतिकथा रिलिज भएको छ । हुर्किएको छोरो अनि बुहारीको बचन, बुढेसकाल लागेकी आमालाई वृद्धाश्रम पठाउन कस्सिएका तिनै छोरा बुहारीको कथा बोकेको गीतिकथा ‘निक्लेर जा भन्छ छोराले’ सार्वजनिक भएको छ ।
राजनराज शिवाकोटीको शब्द र सङ्गीतमा रहेको गीतमा राजनराजलाई स्वरमा टिका पुन र रिता केसीले साथ दिएका छन् । भिडियोको कथा र प्रस्तुति मनछुने बनाइएको छ ।
भिडियोले अन्त्यमा आमालाई गर्नुपर्ने माया र कर्तव्यको बोध गराएको छ । वृद्धाश्रम पुगेपछि आमाको माया महशुस गरेका छोराको व्यथा निकै मार्मिक रुपमा देखाइएको छ। विभोर पोख्रेलको निर्देशन रहेको भिडियो रेबेल क्रिएशनको प्रस्तुतिमा गगनलाल प्रधानले निर्माण गरेका हुन् ।
भिडियोमा हिउँवाला गौतम, सुवास सिंह ठकुरी, कृतिशा केसी, दीपिका भट्ट, सुनिल बुढाथोकी र खेम नेपालीको अभिनय रहेको छ। बाल कलाकारको रूपमा अस्लिशा लोहनी र दिव्यांश सिग्देलले अभिनय गरेका छन्। विशाल थापाको छायांकन रहेको भिडियोमा नहकुल खड्काको सम्पादन छ ।