साइको किलरको कथामा म्याउँ

काठमाडौं । माघे संक्रान्तिको अवसर पारेर फिल्म ‘म्याउँ’को घोषणा गरिएको छ । फिल्ममा अनुपविक्रम शाही र उत्तम प्रधानको प्रमुख भूमिका रहनेछ ।

जय मिडिया मेनेजमेन्टको प्रस्तुतिमा बन्ने फिल्ममा जय राजको लेखन, निर्माण र निर्देशन रहनेछ । निर्देशक जयका अनुसार फिल्मका लागि प्रमुख अभिनेत्रीको टुंगो लागिसकेको छैन ।

‘मानसिक रूपमा विक्षिप्त अवस्थाको साइको किलर, जसको आफ्नै समस्याग्रस्त अतीत छ । उसले समाजमा देखाउने आफ्नो उपस्थिति र त्यसबाट उत्पन्न हुने परिस्थितिलाई फिल्ममा देखाइनेछ’, उनले भने, ‘फिल्ममा ट्वीस्ट र टर्नको भरपुर उपयोग हुनेछ ।’

फिल्ममा दक्षिण भारतीय फिल्मका संगीतकार एजे अलीमिर्जाक नौशाद अलीको संगीत तथा दक्षिण भारतीय फिल्मका पाश्र्व गायकगायिका साई भिग्नेश, पद्मलताको स्वर हुनेछ । साईको स्वर रहेको फिल्म ‘कान्तारा’को गीत ‘बराह रूपम’ र फिल्म ‘थानी ओरुभनु’मा पद्यलमताको स्वरको गीत ‘कान्नाला कान्नाला’ लोकप्रिय छ ।

फिल्ममा दक्षिण भारतीय फिल्मकै छायाँकार आकाश कुमारको डीओपी र लक्ष्मण सुनारको एसोसिएट निर्देशन तथा सम्पादन हुनेछ । फिल्मलाई चिनियाँ वितरक साउथ एसिया मेरीटाइम सिल्क रोड(फूजियान) इन्टरनेसनल मिडिया को.लि.ले वितरणको जिम्मा लिएको छ ।

जेनी खतिवडा राय, केन्द्र रेग्मी र प्रिन्सकुमार चौधरी सह–निर्माता रहेको फिल्मकी कार्यकारी निर्माता निशा खतिवडा हुन् । सन् २०२४ मा विश्वव्यापी रिलिज हुने फिल्ममा सुमन माझीका साउण्ड डिजाइन र सुदीप भण्डारीको भीएफएक्स रहनेछ ।