मोदीबेनीबाट ९ वर्षपछि रेजिनाको कमव्याक

काठमाडौं । छायाङ्कनमा जान लागेको फिल्म ‘मोदीबेनी’को कलाकारको लाइनअप पूर्ण भएको छ । हाल कार्यशालामा रहेको यस फिल्मबाट अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दैछन् । ओजस थियटरमा दुई वटा नाटकमा प्रमुख भूमिकामा अभिनय गरेका श्रेष्ठले केही विज्ञापन तथा ‘प्रितको रित’ नामक वेब सिरिजमा प्रमुख अभिनय गरेका छन् ।

यस फिलमबाट झण्डै ९ वर्षपछि अभिनेत्री रेजिना उप्रेतीले कमब्याक गर्ने भएकी छन् । उनले पछिल्लो फिल्म ‘वरदान’मा प्रमुख भूमिकामा अभिनय गरेकी थिइन् । दुई कार्यकाल कलाकार संघमा उपाध्यक्ष र बरिष्ठ उपाध्यक्ष रही कार्य गरेकी उनले यस बिचमा केही म्युजिक भिडियो, विज्ञापन तथा लघु फिल्ममा अभिनय भने गरिरहेकी थिइन् । उप्रेतीले यस फिल्ममा कलाकार दिलीप केसीसँग स्क्रिन शेयर गर्नेछिन् ।

अभिनेता सरोज खनालले पनि फिल्ममा प्रमुख भूमिका निभाउनेछन् । फिल्ममा अमर, सरोज, रेजिना, केकी, दिलीपका अलावा कमलमणी नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहनेछ । प्रमुख कलाकार अमरसहित अन्य केही कलाकारहरू अडिशनमार्फत छनोट गरिएको हो ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो फिल्ममा शंकर कोइरालाको निर्देशन रहनेछ । आनन्द विक्रम क्षेत्रीले लेखेको यो फिल्ममा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् ।

करिब पैँतिस–चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने यो फिल्मले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्नेछ । फिल्म माघ १६ गतेदेखि छायाङ्कनमा जानेछ ।

फिल्ममा उत्सव दाहालको डिओपी, दिपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गिता पौडेलको हेयर डिजाइन, भिम श्रेष्ठको ड्रेज डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहनेछ ।