पुजार सार्की सुरु

पोखरा। अभिनेतात्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गर्न लागेको महत्त्वाकाङ्क्षी फिल्म ‘पुजार सार्की’को शुभ मुहूर्त भएको छ । मङ्गलवार कास्की जिल्लाको कास्कीकोटमा भएको मुहूर्तसँगै फिल्म छायाङ्कनमा गएको छ ।

आइतबार फर्स्ट लुक पोस्टर सार्वजनिकसँगै फिल्म युनिट कास्की जिल्लाको कास्कीकोट गाउँ पुगेको थियो । फिल्मको छायाङ्कन सोही गाउँमा हुनेछ ।

निर्देशक दिनेश राउतले यो फिल्मलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन् । फिल्ममा विकास सुवेदीको लेखन छ । यसअघि विकास र दिनेशले फिल्म ‘प्रकाश’मा सहकार्य गरेका थिए ।

यस फिल्ममा अभिनेत्री द्वय अन्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गर्दैछन् । साथमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराललगायतको अभिनय रहनेछ ।

फिल्म सङ्गीतकार सुवास भुसालले निर्माण गर्दैछन् । एक दर्जन फिल्ममा सङ्गीत दिएका भुसालले पहिलो पटक फिल्म निर्माण गर्न लागेका हुन् । यस फिल्ममा पनि भुसाल आफैले सङ्गीत तयार गरेका छन् । हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् । प्रकाश सपूत, शान्ति श्री परियार र केतन क्षेत्रीले गीतमा स्वर दिएका छन् । फिल्ममा राजेश श्रेष्ठको डिओपी रहने छ ।