भूठानको छायांकन पुरा

काठमाडौं । निर्देशक विनोद पौडेलद्वारा निर्देशित पहिलो हलिउड चलचित्र ‘भूठान(द वल्र्ड ह्यापियस्ट म्यान)’को छायाङ्कन पुरा भएको छ । चलचित्रमा नेपालबाट हरिवंश आचार्य, दयाहाङ राई, पुजा चन्द लामा, रिचा घिमिरे, भुवन प्याकुरेल, अदिति प्याकुरेल, कौशिला खनाल कर्माचार्य, भारतबाट अनुराधा मजुमदार तथा अमेरिकाबाट हलिउडका विश्वविख्यात अभिनेता बू्रश डनलगायतका अभिनय छ । चलचित्रमा ‘साँघुरो’ फेम्ड निर्देशक जोयश पाण्डे र रंगकर्मी तथा निर्देशक विमल सुवेदीको पनि अभिनय छ ।

निर्देशक पौडेलका अनुसार पाँच वर्षदेखिको निरन्तर प्रयासपछि हलिउडकै अन्तर्राष्ट्रिय मान्यता र मापदण्डमा रहेर चलचित्र बनाइएको बताए । ‘यो नेपालको लागि पहिलो यूनियन (स्याग) चलचित्र हुनेछ । यसमा बु्रश डन मात्र नभएर हलिउडकै प्रख्यात प्राविधिकहरु पनि जोडिएका छन्, जसले गर्दा प्राविधिक पक्ष अब्बल र यसको कथा पनि विश्वले आत्मसात गर्नेछ । यो चलचित्रमार्फत हामी विश्वबजारमा आफ्नो पहुँच बनाउने कुरामा विश्वस्त छौं’, निर्देशक पौडेलले भने ।

म्याड मंकी फिल्मस्ले निर्माण गरेको चलचित्रमा हलिउडकै भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, ठकुराठी ब्रोस र नेपालबाट अवेकन प्रोडक्सनले सहकार्य गरेका छन् । यसका कार्यकारी निर्माताहरु कौशिला खनाल कर्माचार्य, एलएन अधिकारी, अपार श्रेष्ठ, रमेश भट्ट छन् भने निर्माताहरुमा राजेन्द्र ठकुराठी, अभिताव जोशी र अविरल थापा रहेका छन् ।
चलचित्र सन् २०२४ को अन्त्यसम्म दर्शकमाझ आउने निर्मातामध्येका एक अबिरल थापाले बताए ।