हात्तीछापबारे कसले के भने

काठमाडौं । यही माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’को मंगलबार बेलुकी प्रिमियर गरिएको छ । प्रिमियरमा फिल्मीकर्मी, पत्रकार र फिल्मका कलाकारहरुको उपस्थिती थियो ।

सिमोस सुनवारको निर्देशनमा प्रदीप भारद्वाजको कथा रहेको यो फिल्म हेरेपछि निर्देशक ज्ञानेन्द्र देउजाले प्रशंसा गरे । उनले, फिल्मले नेपालको एक ऐतिहासिक घटनालाई २ घन्टामा समेटेको देखेर आफूलाई आश्चर्य लागेको बताए ।

फिल्म हेर्न पुगेका निर्देशक शोभित बस्नेत, निर्देशक कृषा चौलागाई , नायिका रिस्ता बस्नेतले पनि यसको कथावस्तु, प्रस्तुति र कलाकारको अभिनयको प्रशंसा गरे ।
फिल्म हेर्नका लागि निर्देशक दिवाकर भट्टराई, मोडल गरिमा शर्मा, नायक तथा मोडल राज कटुवाल पनि हल पुगेका थिए ।

फिल्म हेरेपछि नायिका बेनिशा हमाल उत्साहित देखिइन् । फिल्ममा सरप्राइज भूमिकामा देखिएकी बेनिशाले दर्शकलाई यसको कथावस्तु मनपर्ने दाबी गरिन् । अर्की नायिका उपासना सिंह ठकुरीले पनि फिल्म राम्रो बनेकाले दर्शकले मन पराउने विश्वास व्यक्त गरिन् ।

फिल्म ‘हात्तीछाप’मा ‘बोत्तल राजा’को भूमिकामा देखिएका नायक सौगात मल्लले दर्शकले फिल्मलाई मन पराउने विश्वास व्यक्त गरे । फिल्मले विशेषगरि, दयाहाङ राई र सौगात मल्लको आ–आफ्नो कथालाई भनेको छ । तर, यी दुइको कथाको मेल कहाँबाट कसरी हुन्छ, यसका लागि दर्शकले फिल्म हेर्नुपर्ने हुन्छ ।

किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो फिल्ममा बिजय बराल, विल्सन विक्रम राई, पुष्कर गुरुङ, रेअर राई, सुष्मा निरौला, वुद्धि तामाङ लगायतका कलाकारको पनि अभिनय छ । यो फिल्मको अधिकांश हलमा बुकिङ समेत खुलिसकेको छ । फिल्मलाई अधिकांश हलले सुखद शोज दिएका छन् ।