सामाजिक कुप्रथामा बोक्सीको घर

काठमाडौं । अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको फिल्म ‘बोक्सीको घर’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो फिल्म आगामी वर्षको बैशाख १४ गतेबाट प्रदर्शनमा आउने भएको हो ।

केकीको होम प्रोडक्सनमा निर्माण भएको सिनेमा बैशाखमा रिलिज गर्न लागेको जानकारी दिइन् । ८ वर्षअघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’माथि रहेर यो फिल्म निर्माण गरिएको छ । नाटककै लेखक एवं निर्देशक सुलक्षण भारती यो फिल्मका निर्देश्क हुन् ।

फिल्ममा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर फिल्म निर्माण गरिएको हो ।

सामाजिक–थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने केकीले बताइन् । नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउने फिल्मलाई अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत लैजाने योजना उनको छ ।

केकी स्वयंम निर्माता रहेको फिल्म्को कार्यकारी निर्माता राजकुमार घिमिरे हुन् । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन, लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले यो फिल्म वितरण गर्नेछ ।