सतीदेवीलाई सहयोग गर्ने मध्यनेपालका मेयरको प्रतिबद्धता

काठमाडौं । मध्यनेपाल नगरपालिका, लमजुङका नगर प्रमुख रमेशकुमार पाण्डेले फिल्म ‘सतीदेवी’ लाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । लक्ष्मण सुवेदीको लेखन, निर्माण र निर्देशन रहेको फिल्मको गत बुधबार दमौलीको क्युएफएक्स सिनेमामा भएका विशेष प्रदर्शनीमा उनले यो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले मौलिक कथामा निर्माण गरिएको फिल्म ‘सतीदेवी’लाई सबैले साथ दिनुपर्ने धारणा राखे । ‘हाम्रो मध्यनेपाल नगरपालिकाका विभिन्न स्थानमा छायांकन गरिएको यस फिल्मले निकै तारिफ पाइरहेको छ । देशको मौलिक कला,संस्कृति तथा कथालाई फिल्मको माध्यमबाट विश्वसामु पुर्याउनु निकै सराहनीय कार्य हो । आफ्नो माटोको सुगन्धलाई उजागर गर्ने ‘सतीदेवी’ टिमलाई हामी सबैले साथ,सहयोग र प्रेरणा दिनुपर्छ,’ मेयर पाण्डेले भने ।

मेयर पाण्डेले स्थानीयता, नेपालीपन र मौलिक विषयवस्तुलाई उठान गर्ने जोकोहीलाई पनि सरकार र सम्बन्धित निकायले भरपुर सहयोग गर्नुपर्ने बताए । उनले फिल्मले उठाएको नारीपक्षको मुद्धा निकै गहन र मननीय रहेको बताउदै आफूलाई फिल्म निकै मन परेको प्रतिक्रिया व्यक्त गरे ।

कार्यक्रममा निर्देशक सुवेदीले मेयर पाण्डे, वडा नं ५ का अध्यक्ष ओमवीर गुरुङ, स्थानीय सृजनशील एकता मगर समाज, लाफा गाउँ होमस्टे, कलाकार इभन श्रेष्ठ, क्युएफएक्स दमौलीलगायतलाई आभार पत्र प्रदान गरेका थिए ।

फिल्म हेर्न मध्यनेपाल नगरपालिका वडा नं ५ का अध्यक्ष ओमवीर गुरुङ, वडा नं ३ का अध्यक्ष केशब न्यौपाने, वडा नं ४ का अध्यक्ष रामबहादुर श्रेष्ठ, वडा नं ७ का अध्यक्ष हिराबहादुर गुरुङ र वडा नं ९ का अध्यक्ष महेशकुमार पाण्डेलगायत जनप्रतिनिधि तथा वडा नं ५ स्थिति लाफा गाउँ होमस्टे, सृजनाशील एकता मगर समाजका प्रतिनिधिहरुका साथमा स्थानीयहरुको बाक्लो उपस्थिति थियो ।

वडा नं ५ का अध्यक्ष गुरुङले ‘सतीदेवी’ आफूलाई अत्यन्तै राम्रो लागेको बताउँदै यसप्रकारका मौलिक,वास्तविक स्थिति छर्लङ्ग पार्ने विषयका फिलम अझै धेरै बन्नुपर्ने धारणा राखे ।

गत माघ तेश्रो साता सौराहामा सम्पन्न सौराहा दक्षिण एसियाली चलचित्र महोत्सवमा सर्वाेत्कृष्ट फिल्म र शिव रेग्मी सर्वाेत्कृष्ट चलचित्र निर्देशक अवार्ड जितेको ‘सतीदेवी’ को चर्चाप्रति केही दिन अघि सूचना तथा संचारमन्त्री रेखा शर्माले चासो देखाएकी थिइन् ।

दिलासा क्रिएसनले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा निर्माण गरेको फिल्ममा दिलासा, सारा र श्रीदेवी सुवेदी निर्माता छन् । फिल्ममा मलिका महत, हर्षिका वली, मञ्जिला बानियाँ, कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सिर्जना अधिकारी, सन्दिपबाबु लोहनी, सुजिता शिवाकोटी, भोला सापकोटा, मनिषा सापकोटा, सन्देश लिम्बूलगायतका कलाकारको अभिनय छ ।