काठमाडौैं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माईला’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। झण्डै तीन मिनेट लामो ट्रेलरमा अंग्रेजी शिक्षक नहुँदा झण्डै खारेजीको संघारमा रहेको एउटा क्याम्पस जोगाउन सक्ने एक मात्र पात्रका रुपमा दयाहाङलाई प्रस्तुत गरिएको छ। तर दयाले यी अपेक्षालाई आफ्नो घमण्डका कारण उपेक्षा गरेको ट्रेलरमा देखाइएको छ।
फिल्मको ट्रेलर क्याम्पसको मान्यता जोगाउन क्याम्पस व्यवस्थापनको जोडबल र मरिच झैं पिरा स्वाभावमा उभिएका दयाको नोकझोकलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ।
दयाहाङको केन्द्रीय भूमिकामा रहेका फिल्ममा अभिनेत्री आँचल शर्मा उनको प्रेमीका बनेकी छिन् । दयाहाङले निर्देशन गरेको सोही नामको नाटकमा यो फिल्म आधारित रहेको छ। फिल्मले बेरोजगारीको कथालाई पस्किनेछ।
बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरिएको फिल्ममा दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ । अभिनेत्री ऋचा शर्मा विशेष भूमिकामा देख्न सकिनेछ।
‘किन चाउरिस मरिच आफ्नै रागले‘ भन्ने चर्चित नेपाली उखानलाई फिल्मले आफ्नो ट्यागलाइन बनाएको छ । फिल्म आगामी चैत ३० गते रिलिज हुनेछ ।
निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको फिल्ममा दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनको छायांकन छ ।