मुम्बई(एजेन्सी) । बलिउडको लोकप्रिय सुपरहिरो फ्रेञ्चाइजी ‘कृष’को चौथो संस्करणको तयारी सुरु भएको छ । फिल्मका निर्देशक राकेश रोशन ‘कृष ४’लाई फ्लोरमा लैजानका लागि तयारी अवस्थामा छन् ।
राकेश र उनका अभिनेता छोरा ऋतिक रोशन ‘वार २’को छायाङ्कन पुरा हुनासाथ ‘कृष ४’मा व्यस्त हुनेछन् । ‘कृष ४’का लागि आफूले गर्नु पर्ने तयारीका लागि ऋतिकले समय छुट्याइसकेका छन् । ऋतिक र राकेश यसपटक दर्शकलाई उनीहरुको सोचाई र आशा भन्दा पनि परको कथालाई देखाउने योजनामा छन् । त्यहीकारण फिल्मको स्क्रिप्टमा निकै मेहनत गरेका छन् ।
ऋतिक सन् २०२५ मा ‘कृष ४’को सुटिङ सुरु गर्ने योजनामा छन् । फिल्मको प्लटलाई लिएर धेरै जानकारी बाहिर आएको त छैन, तर यसपटक फिल्ममा अन्तरिक्षको यात्रालाई प्राथमिकता दिएको फिल्म निकट स्रोतले बताएको छ ।
यसअघि फिल्मको कथामा ‘कृष ४’ ले अन्तरिक्ष यात्राको दायरालाई पत्ता लगाउने बताइएको थियो । जसका लागि फिल्मको टिमले गहन अध्ययन गरिरहेको छ । त्यहीकारण सुपरहिरोको यात्रालाई अगाडि बढाउनका लागि कथा खोज्नमा फिल्म निर्माण टिमले महिनौं समय लगाइसकेको छ ।
फिल्म फ्रेञ्चाइजीको सुरुवात फिल्म ‘कोई मिल गया’बाट भएको थियो, जसमा प्रीति जिण्टा र रेखा प्रमुख भूमिकामा थिए । यसको दोस्रो सिक्वेलका रुपमा ‘कृष’मा ऋतिकका साथ प्रियंका चोपडा प्रमुख भूमिकामा थिइन् । ‘कृष ३’मा पनि यो जोडी थिए ।