काठमाडौं । आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह स्टारर फिल्म ‘पुजार सार्की’ आगामी वर्ष २०८१ जेठ १० गते बिहीबार बुद्ध जयन्तीको अवसर पारेर विश्वव्यापी रिलिज हुने भएको छ । फिल्म निर्माण टिमले शुक्रबार फिल्मका दुई पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो ।
फिल्ममा दिनेश राउतको निर्देशन छ । उनले निर्माता र नेपाल तथा अन्तर्राष्ट्रिय वितरकको सल्लाह बमोजिमको कार्यतालिका अनुसार यो मिति तय गरिएको बताए । ‘समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले फिल्म उत्कृष्ट बनाउने योजना छौं । हाम्रो फिल्मले जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा संघर्षको कथालाई देखाउनेछ’, उनले भने ।
सार्वजनिक फिल्मको एक पोस्टरमा निधारमा रातो टिका लगाएका अभिनेता प्रदीपले दमाहा बजाइरहेका छन् भने अभिनेताद्वय आर्यन र पल आ–आफ्नो चरित्रमा छन् । अर्को पोस्टरमा आर्यनलाई भलाद्मी, पललाई नेतृत्वदायी र प्रदीपलाई केही निर्धो भूमिकामा चित्रण गरिएको छ । चौतारीमा बसेका पल गफ हाँकिरहेका छन् भने आर्यन र प्रदीप हँसिलो मुद्रामा सुनिरहेका छन् ।
फिल्ममा अञ्जना बराइली र परीक्षा लिम्बुको पनि प्रमुख भूमिकामा अभिनय छ । उनीहरुसँगै मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराललाई पनि फिल्ममा देख्न सकिन्छ ।
सुवास भुषालले निर्माण गरेको फिल्ममा हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीको गीत, प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालको स्वर, राजेश श्रेष्ठको डिओपी, सुप्रिम पराजुलीको सम्पादन, हिमाल केसीको द्वन्द्व छ । किङडम नेटवर्कको ब्यानरमा बनेको फिल्म आरआर फिल्मसले वितरण गर्दैछ ।