मनसराको कथासार बुझाउने झ्यालको

काठमाडौं । कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको फिल्म ‘मनसरा’को पहिलो गीत ‘झ्यालको’रिलिज गरिएको छ । सोमबार इन्टरनेटमा रिलिजमा फिल्मका मुख्य कलाकारहरुका केही दृश्यहरु समावेश गरिएका छन् । जसले फिल्मको कथासार बुझाउन मदत गर्छन् ।

झुमा लिम्बुको कम्पोजिसन रहेको गीतमा हर्क साउदको शब्द तथा सनुप पौडेल र झुमा लिम्बुको स्वर सुन्न सकिन्छ । टिजर, ट्रेलर तथा फरक शैलीको प्रचारले चर्चामा रहेको फिल्मलाई सोमबार सार्वजनिक गीतले पनि थप प्रचारमा सघाउने निर्माण पक्षको दाबी छ ।

फिल्ममा बाहुन बाजे बनेका प्रविणको लिम्बुनी मिरुनासँगको निकटता बाजेकी नेवार्नी पत्नी बनेकी मेनुकासँगको अमिलो सम्बन्धको कथा पेस गरेको छ । यस्तै, दयाहाङ र मिरुनासँग सम्बन्ध पनि फिल्ममा रहेकाले यो कथा र पात्रको एकअर्काको सम्बन्धको जालो कन्फ्युजिङ रहेकाले दर्शकप्रति कौतुहल्ता पैदा गर्न सफल देखिएको छ ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।

फिल्ममा विष्ण कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् । निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन फिल्ममा रहेकोछ ।

त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेका छन् । बैशाखको २१ गतेबाट रिलिजमा आउन लागेको यो फिल्म एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्नेछ । क्यूएफएक्स थिएटर पार्टनर रहेको छ भने जी टु वान डिजिटल पार्टनर हो ।