पुजार सार्कीको रिमै

काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली फिल्म ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक भएको छ। मङ्गलवार युट्युबमार्फत सार्वजनिक गरिएको यस गीतका दृश्यहरूले फिल्मको थिम प्रस्तुत गरेका छन्।

गीतमा पुजारको चरित्र निभाएका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइली, मैतबहादुरको चरित्रमा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको अन्तरजातीय प्रेम, दोधारमा परेका अभिनेता पल शाहलाई देखाइएको छ। गीतमा दिनेश राउतका शब्द र सुवास भुसालको सङ्गीत तथा देवेन्द्र बराल र मुना ठटालको स्वर छ ।

यसअघि सार्वजनिक गीत ‘दर्शन गरेँ’लाई अत्यधिक रुचाइएको छ भने फिल्मका पोस्टर र टिजरबाट दर्शक प्रतीक्षित बनेका छन्। यस फिल्ममा आर्यन सिग्देल पुजारीको भूमिकामा देखिएका छन्। प्रदीप खड्का दमाहा बजाउँदै गरेको देखाइएको छ तर, उनको पूर्ण परिचय भने गराइएको छैन। पल शाहको भूमिका क्रान्तिकारी रहेको अनुमान गरिएको छ। अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीहरूको भूमिकामा प्रस्तुत गरिएको छ।

फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ । फिल्ममा दिनेश राउतको निर्देशन, विकास सुवेदीको लेखन, सुवास भुषालको निर्माण छ ।

किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो फिल्म नेपालमा आरआर फिल्मसले वितरण गर्दै छ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ। हर्क साउद, बि। पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिएका छन् । राजेश श्रेष्ठको डिओपी रहेको ुपुजार सार्कीुलाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्। चलचित्रको पोस्टर डिजाइन रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका हुन्।