काठमाडौं । अभिनेता अनमोल केसी यतिबेला करियरको १० औं वर्षको दौडमा छन् । अभिनयमा दशक यात्रा गर्दै गर्दा उनी १० औं फिल्म ‘फर्की फर्की’ लिएर यही जेठ १० गते दर्शकमाझ आउँदैछन् ।
दशकको यात्रामा अनमोलले आफूलाई लभरब्वाई, खेलाडी, ग्याङस्टारका रुपमा दर्शकमाझ उभ्याए । यिनै अनमोल टाइम ट्राभलको कथा रहेको फिल्म ‘फर्की फर्की’मा म्याडी चरित्रमा देखिँदैछन् । फिल्मको सार्वजनिक ट्रेलरमा उनले आफूलाई ‘भगवान’ मानेका छन् ।
अनमोल फिल्मको संवाद अनुसार आफूले आफूलाई भगवान भनेको बताउँछन् । ‘वास्तविकतामा म आफूलाई भगवान मान्दिनँ । जो मान्छेले समयलाई नियन्त्रण गर्न र अघिपछिको जीवनलाई परितर्वन गर्न सक्छ, त्यो सन्दर्भमा उसले आफूलाई भगवान महशुस गर्ने हो । यो रामायण वा महाभारतको जस्तो भगवान होइन । फिल्ममा म्याडीले आफू भगवान हो भन्ने कुरामा विश्वास गर्छ’, अनमोल भन्छन् ।
मानिसले कुन बेला आफूलाई भगवान महशुस गर्छ त ? यो प्रश्नमा अनमोलको बुझाई आफ्नै छ । ‘कसैलाई आफूलाई यो दुनियाँ आफ्नै कब्जामा छ भनेर महान अनुभव गर्छ । उसले आफूले गरेका जे कुरा पनि सही नै हो भन्ने ठान्छ । तब आफूलाई भगवानको महशुस गर्छ’, अनमोल भन्छन् ।
अनमोलका अनुसार फिल्मको स्क्रिप्टमा ‘भगवान’ आए पनि दर्शकले म्याडीको समयमा उसको संघर्षदेखि उसको गलत समय, सही समय, परिवारसँग र साथीभाईसँगको सम्बन्धको कुरा हेर्न पाउनेछन् ।
अनमोलका लागि वर्ष २०८० सुखद रहेन । उनी अभिनित फिल्म ‘छड्के २’ बक्सअफिसमा फ्लप भएपछि सामाजिक सञ्जालमार्फत फिल्म असफल भएको स्वीकारेका थिए । त्यसैवर्ष एक निर्माताले ‘आपराधिक विश्वासघात’को आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि उनी प्रहरी हिरासतमा तीन दिन बसेर रिहा भएका थिए ।
यी दुई घटनालाई आफूले नराम्रो सपनाका रुपमा लिने गरेको अनमोल सुनाउँछन् । ‘भनिन्छ, सबै मानिसको जीवनमा एकचोटी साढे ७ को दशा आउँछ । शिवजीको जीवनमा पनि त्यस्तै भएको थियो रे । यी दुई कुरालाई एउटा नराम्रो सपनाको रुपमा लिन्छु’, उनी भन्छन्, ‘छड्के २को असफलताले मलाई जीवनमा ‘एउटा विन्दुमा पुगेर मेहनत गर्नुपर्छ । मेहनत अझ पुगेको छैन’ भनेर हौसला दिएको छ । यो नै मेरा लागि महत्वपूर्ण पाठ हो ।’
अनमोलका लागि ‘फर्की फर्की’ मानसिक रुपमा चुनौतीपूर्ण रहेछ । ‘म गत वर्ष मानसिक रुपमा कमजोर पनि थिएँ । मेरो शक्तिलाई पुनः बाहिर ल्याउनका लागि मानसिक दबाबका बाबजुद पनि फर्की फर्कीमा काम गर्नु ठूलो चुनौती थियो । त्यहीकारण धेरै प्रोजेक्टमध्ये मैले फर्की फर्की नै छानें’ उनी भन्छन् ।
दर्शकले आफूलाई ‘फर्की फर्की’मा ‘बेटर एक्टर’का रुपमा देख्न पाउने अनमोलले दाबी गरे । ‘जुन बेला अभिनय थाहा थिएन, त्यो समयमा मैले ‘होस्टेल’, ‘जेरी’, ‘ड्रिम्स’मा अभिनय गरें । यी फिल्मलाई दर्शकले मनपराउनुभयो । अहिले कलाकारका रुपमा समय, अनुभव र दक्षताले पनि धेरै कुरा सिक्ने मौका पाएको छु । मलाई ‘फर्की फर्की’मा अझ बेटर एक्टर देख्नुहुनेछ’, उनले भने ।
रोहित अधिकारीको निर्माण र सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘फर्की फर्की’मा अनमोलले अभिनेत्री जसिता गुरुङसँग अनस्क्रिन रोमान्स गर्दैछन् । फिल्ममा निर्मल शर्मा, लोकेन्द्र लेखक, सलोन बस्नेत, रवि काफ्ले र समृद्धि अर्याललगायतको अभिनय छ ।