काठमाडौं । १६ वर्षअघि निर्माण भएको फिल्म ‘सानो संसार’ नयाँ कथामा दर्शकमाझ आउने भएको छ । अर्जुन कुमारको लगानी रहने फिल्मको शुक्रबार बिहान राजधानीको कमलादीस्थित गणेश मन्दिरमा मुहुर्त गरिएको छ ।
मुहुर्तमा फिल्मकी प्रमुख कलाकार सीतादेवी तिमल्सिनाले मुहुर्त सट, फिल्मका प्रोडक्सन म्यानेजर शंकर पाण्डेले क्ल्याप हिर्काउँदा निर्माता अर्नुन कुमारले नरिवल फोडेका थिए ।
फिल्ममा सीताका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर शिवाकोटीको ‘डेब्यू’ अभिनय रहने छ । यही जेठ २५ गतेबाट फ्लोरमा जाने फिल्म काठमाडौं, धादिङ र नुवाकोटमा खिचिनेछ । फिल्मको रिलिज भने असोज १७ गते हुनेछ ।
अर्जुन कुमार फिल्मस् र राजधानी मिडिया एड प्रालिप्रोडक्सनको व्यानरमा फिल्म बन्न लागेको हो । निर्माता अर्जुनकुमारले १६ वर्ष अगाडी यही नाममा दिवंगत निर्देशक आलोक नेम्वाङले निर्माण गरे पनि पहिलाको फिल्मसँग कुनै सम्बन्ध नरहेको बताए ।
फिल्मका निर्देशक सिद्धार्थ पुडासैनीले फिल्मको कथा मनपरेकाले निर्देशनको जिम्मा लिएको बताए । सिद्धार्थले यही फिल्मबाट लेखन तथा निर्देशनमा ‘डेब्यु’ गर्दैछन् । उनलाई फिल्मको कथा लेखनमा सरिष्मा पुडासैनीले सघाएकी छन् । फिल्मको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट रहेको छ ।