शनिबार आक्रामक घरज्वाइँ

काठमाडौं । हिजो शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘घरज्वाइँ’ले आज शनिबार बक्सअफिसमा आक्रामक व्यापार गरेको छ । शुक्रबार बिहानी शोमा पानीले केही हदसम्म असर गरेपनि दिउँसोबाट पिकअप लिएको फिल्मले शनिबार बिहानी शोबाटै आक्रामक व्यापार गरेको वितरक रोहित कट्टेलले बताए ।

शनिबारको बिहानी शोमा ८० प्रतिशत माथिको अकुपेन्सी देखिएको थियो, भने दिउँसो १२ बजेपछिका शोमा शतप्रतिशत अकुपेन्सी रहेको वितरक कट्टेलले बताए । शुक्रबार दर्शकबाट मिलेको उत्कृष्ट वर्डअफ माउथका कारण धेरै हलले आज शनिबारका लागि शो थपेका थिए ।

शनिबार बिहानैबाट काठमाडौं उपत्यका र मोफसलका ठुला शहर पोखरा, नारायणघाट, विराटनगर, इटहरी, धरान, विर्तामोड, बुटवल, दाङ, नेपालगञ्जका हलमा दर्शकको चाप देखिएको निर्माता जनक घर्ती मगरले बताए । साथै, हिजो शुक्रबार आज शनिबार दर्शकको राम्रो साथ पाएपछि हलले भोली आइतबारका लागि अधिकांश हलले शनिबारका शोलाई नै यथावत राखेका छन् ।

दर्शकको राम्रो साथ मिलेपछि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरले दर्शकलाई धन्यवाद दिएका छन् । आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा रहेको भन्दै भोली आइतबारबाट पनि दर्शकको यस्तै साथ आवश्यकता रहेको उल्लेख गरेका छन् । डेव्यु निर्देशक अनिल बुढा मगरले पनि आफ्नो पहिलो पाइलामा नै दर्शकको यो लेवलको साथ र सहयोग मिल्दा आगामी दिनमा अझ उत्कृष्ट फिल्म निर्माण गर्नु पर्ने चुनौती थपिएको बताएका छन् ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सुसन प्रजापतिको छायांकन छ । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

अनिल बुढा मगरको डेव्यु निर्देशनमा निर्माण भएको फिल्ममा जनक घर्ती मगरको लगानी छ । फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

फिल्मका गीतमा हर्क साउद र मनोज थापा मगरको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने फिल्मको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा सिनेमालाई आरआर फिल्मसले वितरण गरेको हो ।