कर्मा बनाउँदै सौरभ

काठमाडौं । गत वर्षको फागुन १८ गते प्रदर्शनमा आएको फिल्म ‘अगस्त्यः च्याप्टर–१’ का निर्देशक सौरभ चौधरीले नयाँ फिल्म ‘कर्मा’ निर्माणको घोषणा गरेका छन्।

बिहिबार फिल्म थिम पोस्ट सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । सार्वजनिक थिम पोस्टरमा युद्ध लड्न हिँडेका सैनिक देख्न सकिन्छ ।

फिल्मको कथा पनि उनी स्वयंले लेखेका छन् । यो फिल्म एक्सन ड्रामा एडभेन्चर जनरामा निर्माण हुने बताइएको छ । निर्देशक चौधरीको तेस्रो प्रोजेक्ट हो । तीन वर्षअघि उनी निर्देशित ‘लभ डायरिज’ रिलिज भएको थियो ।

‘अहिलेसम्म जे जति फिडब्याक पाएको छु, राम्रै पाइरहेको छु । बजेटभित्र उत्कृष्ट काम निकाल्ने हाम्रो प्रयास हुन्छ । यो फिल्म एक्सन मात्रै होइन । एक्सन फिल्मको हिस्सा हो तर फिल्मको बलियो भनेको यसको स्क्रिप्ट हो । यसको पटकथा कसिलो छ,’ उनले भने ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने फिल्ममा बसन्त लम्सालले लगानी गर्नेछन् । फिल्मको कथावस्तु र कलाकारबारे निर्माणपक्षले अहिले जानकारी दिएको छैन ।