जन्ते बाख्रोमा आशिफ अनुबन्धित

काठमाडौं । सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने फिल्म ‘जन्ते बाख्रो’मा अभिनेता आशिफ शाह अनुबन्धित भएका छन् । यसअघि नै फिल्मको मुख्य भुमिकामा अभिनेता सौगात मल्ल अनुबन्धित भइसकेका छन् ।

निर्देशक सिमोस सुनुवार हिमालय टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो रोडिजमा व्यस्त भएसँगै फिल्मको छायांकन तिहार पश्चात गर्ने तयारी निर्माण कम्पनीको छ । फिल्मको मुख्य अभिनेत्री लगायतका केही कलाकारका लागि अडिसन आव्हान गरिएको छ । जसको छनोट काम केही दिनमा सुरु हुने निर्देशक सिमोसले बताए । अडिसनमा देशभरका करिब ४ सय बढीले आवेदन दिएका छन् ।

फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । कमेडी कथावस्तुमा फिल्म बन्नेछ । बेहुली भित्र्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ ।

मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा सन्तोष गौतम र निर्देशक सिमोस सुनुवारको लगानी रहनेछ । फिल्ममा हरि हुँमागाईंको छायांकन हुनेछ ।