हरेक पलको रजत महोत्सव

काठमाडौं । पछिल्लो समय दर्शकमाझ अत्यन्त लोकप्रिय टेलिश्रृंखला ‘हरेक पल’। डि एण्ड डी इन्टरटेन्मेन्ट यूट्युब च्यानलबाट हरेक बिहीवार साँझ ७ बजेदेखि प्रसारणमा आउने यो टेलिश्रृंखलाले भदौ ६ गते अर्थात बिहीवार साँझ प्रसारणको २५ भाग पूरा गर्दै रजत महोत्सव मनाएको छ । यो टेलिश्रृंखला सामाजिक विषयवस्तुका साथै चेतनामूलक विषयवस्तु चित्रण गर्दै आइरहेको हास्य कलाकार तथा श्रृंखला निर्माता राजकुमार देवकोटाले बताए ।

सुरेन्द्र थापाको निर्देशन रहेको टेलिश्रृंखलामा बेगम नेपाली, राजकुमार देवकोटा, सन्तोष न्यौपाने, सरु दाहाल, सुरेन्द्र थापा, आयुष्मा कार्की, बिनोद परियार, बेगम पुन मंगा, सुदर्शन खतिवडा, मोहन लामा, सुमन पौडेल आदि कलाकारले अभिनय गरेका छन् । श्रृंखलामा बाल कलाकारहरु संस्कृति नेपाली तथा समर्पण खतिवडाको पनि अभिनय छ ।

डि एण्ड डी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भैरहेको यो टेलिश्रृंखलामा निर्देशक सुरेन्द्र थापाकै लेखन रहेको छ । रविन्द्र खड्काको सम्पादन तथा कलर ग्रेडिङ रहेको यो श्रृंखलाका छायांकार ज्ञानकुमार कट्टेल हुन् । श्रृंखलामा सञ्जय श्रीपालको शब्द तथा संगीतमा तयार भएको गीतमा गोविन्द मधुर आचार्य तथा बीना भट्टराईको स्वर छ ।

कलाकार तथा निर्माता राजकुमार देवकोटाले हास्य टेलिश्रृंखला ‘झुयाईँ कुटी झ्याईँ’ तथा ‘हर्के हल्दार’ मा अभिनय गर्दै आफ्नो अभिनय यात्रा प्रारम्भ गरेका थिए । त्यसपछि उनी आफैंले निर्माण गरेको टेलिश्रृंखला ‘रिसानी माफ’ मा उनी हिराकाजीको भूमिका निर्वाह गरेर दर्शकमाझ स्थापित भए । अहिले उनी ‘गाह्रो छ हो’ शीर्षकको टेलिश्रृंखलामा पनि व्यस्त छन्, जसमा उनले टिकारामको भूमिका निर्वाह गरेका छन् ।