किनो फेस्टिभलको फाइनलमा द स्कुलवाल

काठमाडौं । नेपालको सर्टफिल्म ‘द स्कुलवाल’ रसियाको चलचित्र महोत्सवको फाईनलमा पुगेको छ । ‘लाईट अफ द वल्र्ड’ नाराका साथ आयोजना गरिएको रसियाको किनो फेस्टिभलमा सहभागी विभिन्न १ सय २१ देशका ३ हजार ४ सय ९१ फिल्महरुमध्येबाट ‘द स्कुलवाल’फाईनलसम्म पुगेको हो ।

रसियाको रिबिन्स्क सिटीमा सेप्टेम्बर १२ देखि १६ सम्म हुने महोत्सवमा ‘द स्कुलवाल’ प्रर्दशनसमेत हुँदैछ । फाईनल चरणमा नेपालको तर्फबाट द स्कूलवाल सँगै अमेरिका, इन्डोनेसिया, भारत, ब्राजिल पनि सहभागी रहेको छ । उक्त फिल्म महोत्सवलाई रुसी अर्थोडक्स चर्चको यारोस्लाभ मेट्रोपोलियाको रिबिन्स्क डायोसेजको आयोजना तथा राष्ट्रिय प्रतिलिपि अधिकार समर्थन कोष र राष्ट्रपति अनुदानकोषले सह–आयोजना गरेको छ ।

रसियाको फेस्टिभल आयोजक टीमबाट कार्यक्रममा सहभागी हुनको लागि निमन्त्रणा आएसँगै रसियन एम्बेसीले भिसा पनि दिईसकेको तर रसिया–युक्रेन युद्धको कारण नेपाल सरकारले नै नेपालीहरुलाई रसिया प्रवेशको लागि रोक लगाएकोले समस्या उत्पन्न भएको निर्माता सुरेन्द्र क्षेत्री बताउँछन् । परराष्ट्र मन्त्रालय पनि गएको तर परराष्ट्रले पहिलोपटक रसिया जानेलाई एनओसी उपलब्ध नगराउने बताएको उनी बताउँछन् ।

बालमनोविज्ञानमा आधारित ‘द स्कुलवाल’ यसअघि नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल, इरानको रोशड इन्टरनेशनल एजुकेशन एण्ड साईन्टिफिक फिल्म फेस्टिभल, जिम्वावेको भर्सिटी फिल्मएक्स्पो र बेलायतको लिफ्ट अफफिल्ममेकर सेसन्स र फस्ट टाईम फिल्म मेकर सेसन्समा छनोट भएको थियो । ‘द स्कुलवाल’ काठमाडौं इन्टरनेशनल माउण्टेन फिल्म फेस्टिभलमा छनोट भएर राष्ट्रिय सभा गृहमा प्रदर्शनसमेत भएको थियो ।

फिल्ममा श्लोक साहले मुख्य भुमिका निर्वाह गरेका छन् । फिल्ममा सुवासप्रसाद गजुरेल, सरोज लामिछाने, चन्द्रप्रसाद पाण्डे, गीताश्री थापा, आयुषा गौतम, बिदुरप्रसाद सिग्देल, निष्ठा दाहाल, रेहान केसी, खेमराज कोइराला, उद्धव दंगाललगायतका कलाकारको अभिनय रहेको छ । फिल्म सुरेन्द्र क्षेत्रीले कास्टिङ निर्देशकसँगै निर्माणसमेत गरेका हुन् ।

‘द स्कुलवाल’मा पर्खालको रुपमा गरिबी, परिस्थिति र जिम्मेवारीलाई प्रस्तुत गरिएको छ । फिल्ममा विद्यालय नजिकै जुत्ता पालिस गर्ने तराईको एक बालकको संघर्षको कथालाई प्रस्तुत गरिएकोे छ । काठमाडौंमा छायांकन गरिएको फिल्ममा नारायण जिसीको छायांकन, अनिलकुमार महर्जनको सम्पादन तथा रङ्ग संयोजन र करन साउदको सहायक निर्देशन छ ।

ऐना आट्र्सको प्रस्तुतिमा निर्माण भएको ‘द स्कुलवाल’को लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । उनले यसअघि निर्माण गरेका लघु फिल्म ‘घुर्रा’, ‘भाउ’, ‘पाउलो’ विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा छनोट भएर विभिन्न देशमा प्रदर्शनसमेत भईसकेको छ ।