द स्कुल वाललाई रसियामा अवार्ड

काठमाडौं । नेपाली सर्ट फिल्म ‘द स्कुल वाल’ रसियाको चलचित्र महोत्सवको फाइनलमा विजेता बनेको छ । ‘लाईट अफ द वल्र्ड’ नाराका साथ आयोजना गरिएको रसियाको किनो फेस्टिभलमा सहभागी विभिन्न १ सय २१ देशका ३ हजार ४ सय ९१ फिल्ममध्येबाट ‘द स्कुल वाल’ ले पहिलो स्थान हासिल गरेको छ ।

रसियाको रिबिन्स्क सिटीमा सेप्टेम्बर १२ देखि १६ सम्म सो चलचित्र महोत्सवको आयोजना गरिएको थियो । फाइनल चरणमा अमेरिका, इन्डोनेसिया, भारत, ब्राजिल पनि सहभागी थिए । नेपालको तर्फबाट ‘द स्कूलवाल’पहिलो स्थानसँगै भारत दोस्रो र अमेरिकाले तेस्रो स्थान प्राप्त गरेको थियो ।

बाल मनोविज्ञानमा आधारित सर्ट फिल्म ‘द स्कुल वाल’ यसअघि नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल, इरानको रोशड इन्टरनेशनल एजुकेशन एण्ड साईन्टिफिक फिल्म फेस्टिभल, जिम्वावेको भर्सिटी फिल्म एक्स्पो र बेलायतको लिफ्ट अफ फिल्ममेकर सेसन्स र फस्ट टाईम फिल्म मेकर सेसन्समा छनोट भएको थियो । ‘द स्कुलवाल’ काठमाडौं इन्टरनेशनल माउण्टेन फिल्म फेस्टिभलमा छनोट भएर राष्ट्रिय सभा गृहमा प्रदर्शनसमेत भएको थियो ।

फिल्ममा श्लोक साहले मुख्य भुमिका निर्वाह गरेका छन् । उनीबाहेक सुवासप्रसाद गजुरेल, सरोज लामिछाने, चन्द्रप्रसाद पाण्डे, गीताश्री थापा, आयुषा गौतम, विदुरप्रसाद सिग्देल, निष्ठा दाहाल, रेहान केसी, खेमराज कोइराला, उद्धव दंगाललगायतका कलाकारको अभिनय छ । फिल्म सुरेन्द्र क्षेत्रीको कास्टिङ डिरेक्सनसँगै निर्माणसमेत गरेका हुन् ।

फिल्ममा पर्खालको रुपमा गरिबी, परिस्थिति र जिम्मेवारीलाई प्रस्तुत गरिएको छ । फिल्ममा विद्यालय नजिकै जुत्तापालिस गर्ने तराईको एक बालकको संघर्षको कथालाई प्रस्तुत गरिएकोे छ । काठमाडौंमा छायांकन गरिएको फिल्ममा नारायण जिसीको छायांकन छ । फिल्मको सम्पादन तथा रङ्ग संयोजन अनिलकुमार महर्जन र सहायक निर्देशन करन साउदको रहेको छ ।

ऐना आट्र्सको प्रस्तुतिमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका छन् । उनले यसअघि निर्माण गरेका सर्ट फिल्म ‘घुर्रा’, ‘भाउ’, ‘पाउलो’ विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएर विभिन्न देशहरुमा प्रदर्शनसमेत भईसकेको छ । उनी अहिले नयाँ सर्टफिल्म ‘दृश्य’को तयारी गरिरहेका छन् । एक सटमा खिचिएको ‘घुर्रा’ले उत्कृष्ट लघु चलचित्रको अवार्ड समेत प्राप्त गरेको थियो ।