सानो संसारबारे के भन्छन् कलाकार ?

काठमाडौं । यही शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘सानो संसार’का प्रमुख कलाकारहरु फिल्मलाई लिएर निकै उत्साहित छन् । सुरुवातमा सिरिजको रुपमा निर्माण भएको ‘सानो संसार’ को अधिकार निर्माता अर्जुन कुमारले लिएपछि उनले फिल्मका रुपमा रुपान्तरण गरेका हुन् ।

फिल्ममा कलाकार सीतादेवी तिमल्सेनाले आमाको भूमिका निर्वाह गरेकी छन् । सीता अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’की श्रीमति हुन् । सीताका अनुसार उनी फिल्ममा एक मध्यमवर्गीय परिवारकी आमाको भूमिकामा छिन् । ‘मध्यम वर्गीय परिवारको अवस्था कस्तो हुन्छ, त्यस्तै कथा फिल्ममा छ । म त्यो परिवारकी आमा हुन्छु । छोराछोरी र आमाबाबुको पुस्ताको कुरा नमिल्दा के कस्तो समस्याहरु आउन सक्छन् भन्ने पनि देखाइएको छ’, उनी भन्छिन् ।

सीतादेवी फिल्म हेरिरहँदा दर्शकले आफूलाई कहिँ न कहीँ कनेक्ट गर्ने दाबी गर्छिन् । मध्यम वर्गीय परिवारको कथा भएकाले पनि जोकोहीलाई फिल्मले छुनेमा उनी विश्वस्त छिन् ।

फिल्ममा अनु दाहालले जेठी छोरीको भूमिका निभाएकी छन् । उनको भनाईमा उनको चरित्र आधुनिक महिलाको छ । ‘मध्यम वर्गीय परिवारको भएर उसमा ठूलो जिम्मेवारी छ । उसलाई जिम्मेवारी पुरा गर्न प्रमाणित गर्नु छ । छोरी भएर अर्काको घरमा जानु पर्छ भन्ने मान्यतालाई तोड्दै म पनि घरको छोरा जस्तै हुँ भनेर देखाउने उसमा सोच छ । यो बाहेक उसलाई समाजमा पहिचान पनि बनाउनुछ’, अनु भन्छिन् ।

फिल्मकी अर्की कलाकार अन्जसा रिजालले कान्छी छोरीको भूमिका निर्वाह गरेकी छन् । ‘मेरा धेरै सपना छन् । जीवनमा धेरै उद्देश्य हुन्छ, त्यो उद्देश्य पुरा गर्ने क्योक्टरमा छु । फिल्मका केही दृश्य मेरा लागि चुनौतीपूर्ण पनि थिए । किनकी म वास्तविक जीवनमा जे छु, त्यो भन्दा केही फरक यसमा छु । तर सिरिजको समयदेखि नै क्यारेक्टर डेभलप गरिरहेकोले धेरै समस्या चाहिँ भएन’, उनी भन्छिन् ।

अर्का कलाकार राज पंगेनी शर्माले बुवाको चरित्र निभाएका छन् । ‘फिल्ममा एन्टागोनिस्ट भन्ने छैन, सबै प्रोटागोनिस्ट नै हुन् । तर परिस्थिति एन्टागोनिस्ट छ । मेरो काम भनेको चाहिँ घरभित्र आइपरेका समस्यालाई समाधान गर्न संघर्षरत बुवाको चरित्र हो । म आफू पनि मध्यमवर्गीय परिवारबाट प्रतिनिधित्व गर्ने भएकाले काम गर्न गाह्रो भएन । फिल्मको प्लटहरु हेर्दा मेरै कथा भनेको हो कि भन्ने लाग्यो’, उनले भने ।

सिद्धार्थ पुडासैनी निर्देशित फिल्ममा शिशिर शिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको पनि अभिनय छ । राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा निर्मित फिल्ममा माधव वाग्ले कार्यकारी निर्माता छन् ।

पुडासैनीले यो फिल्मबाट लेखन तथा निर्देशनमा डेव्यु गर्दैछन् । उनलाई पटकथा लेखनमा सरिश्मा खत्रीले सघाएकी छन् । प्रवीण खड्काको छायांकन र रोमी तन्डुकारको सम्पादन रहेको फिल्मको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट हो ।