आँखा ट्रेलरमा सम्पत्तिविहिन दम्पत्तीको संघर्ष

काठमाडौं । यहि असोज ११ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आँखा’को ट्रेलर सार्वजनिक भएको छ । प्रदर्शन मिति आउन पाँच दिन बाँकी रहँदा निर्माण कम्पनी लामा सिनेमाजले झण्डै साढे २ मिनेट लामो ट्रेलर युट्युव रिलिज गरेको हो ।

फिल्म निर्देशक जौन योन्जनले फिल्मको कथावस्तुलाई संक्षिप्त वर्णन गर्दै ट्रेलरलाई पनि सोहि प्रकृतिले सुन्दर बनाउने प्रयास गरेका छन् । ट्रेलरमा दुई प्रमुख कलाकार अभिनेत्री स्मिता लामिछाने र अभिनेता आरके मेहता केन्द्रमा छन् ।

बागमती नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई फिल्मले भावनात्मक रूपमा उठान गरेको छ । सुकुम्बासी बस्तीमा बस्दै आएको घर सम्पतिविहिन दम्पतिले जीविकोपार्जनको लागि गर्नुपरेको संघर्ष र त्योबीचमा उत्पन्न परिस्थितिलाई फिल्मको कथावस्तु बनाइएको छ ।

लामा सिनेमाजको ब्यानर तथा ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको फिल्ममा स्मिता र आरकेसँगै विजय बराल, नीशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा र अभयराज बराल र बाल कलाकार प्रसन राई मुख्य अभिनयमा छन् ।

निर्देशक योन्जनकै कथा, पटकथा रहेको फिल्मको निर्माता पनि योन्जन नै हुन् भने नारायणप्रसाद बराल कार्यकारी निर्माता रहँदा राम बस्नेत लाइन प्रोड्यूसर छन् । सह(निर्मातामा रेनुका कार्की ढोली छिन् । फिल्ममा कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन छ । आलोक शुक्लाको छायांकन रहेको फिल्म ‘आँखा’मा संगीत दिपक आरजे र जयन जे वाइवाको छ ।

फिल्ममा पार्श्व संगीत गंगा थापाको र ध्वनी मुद्रण किशोर आचार्यको छ । फिल्म आरआर फिल्मस्’ले प्रदर्शन तथा वितरण अधिकार लिएको छ ।