तुलसीको पहाडमा विपिनको र्‍याप

काठमाडौं । दर्जनौ हिट फिल्म दिएका निर्देशक तुलसी घिमिरेले बनाउँन लागेको नयाँ फिल्म पहाडको एक गीतमा अभिनेता विपिन कार्कीले आफ्नो स्वर दिएका छन् ।

आईतबार काठमाडौंको महाराजगञ्जमा रहेको भेनस रेकर्डिङ स्टूडियोमा विपिनले पहाडको एक गीतमा र्‍याप भरेका हुन । तुलसी घिमिरेका ससुरासमेत रहेका संगीतकार रञ्जित गजमेरको संगीतमा विपिनले पहाडका लागि र्‍याप गीत गाएका हुन । गीत निर्देशक घिमिरेले लेखेका हुन । घिमिरेका अनुसार यो गीतमा भारती घिमिरे र अन्य एक गायकको पनि स्वर रहने छ । फिल्ममा जम्मा चार वटा गीत रहने छ ।

‘मैले पहिले छड्के फिल्ममा पनि गीत गाएको थिएँ तर बर्षौ पछि फेरी गीत गाउँदा अझै मज्जा आयो । हिन्दी र नेपाली शब्द मिसाईएको गीतको लिरिक्स सुन्दा कठिन होला कि जस्तो लागेको थियो तर गाउँदै जाँदा सजिलै गाए’ गीत रेकर्डिङ भईसकेपछि विपिनले भनेका छन् ।

आगामी तिहार लगत्तै छायाँकनमा निस्किने पहाडमा विपिन कार्की सहित मदनकृष्ण श्रेष्ठ, सुनील थापालगायतका कलाकारको अभिनय रहनेछ । यो फिल्मबाट सप्राईज रुपमा अर्का एक चलेका अभिनेता र एक नव अभिनेत्रीको आगमन पनि हुने निर्देशक घिमिरेको भनाई छ ।

५० प्रतिशत नेपालका विभिन्न पहाडी भेगमा छायाँकन हुने यस फिल्मको बाँकी ५० प्रतिशत छायाँकन भने मुम्बईमा हुनेछ । प्रि–प्रोडक्सनको अन्तिम चरणमा रहेका निर्देशक घिमिरेलेलाई प्रोडक्सन डिजाइनर भएर जेठी छोरी भावनाले सघाईरहेकी छिन् ।