फागुन २ मा ताण्डवम्

काठमाडौं । कलरिस्ट जुनिम गहतराजले निर्देशनमा डेब्यु गरेको फिल्म ‘ताण्डवम्’को प्रदर्शन मिति घोषणा गरिएको छ। दशमीको अवसर पारेर फिल्म भ्यालेन्टाइन डे अर्थात् फागुन २ गते प्रदर्शन हुने घोषणा गरिएको हो।

फिल्मको गतवर्ष माघमा छायांकन गरिएको थियो। हाल पोस्ट प्रोडक्सनमा रहेको फिल्मको गत शनिबार विजयदशमीमा एक थिम पोस्टर सार्वजनिक गर्दै रिलिज मिति पक्का गरिएको हो। यही फिल्मबाट कलरिस्ट जुनिमले अभिनय र निर्देशनमा डेब्यु गरेका हुन् ।

फिल्ममा उनको जोडी डेब्यु अभिनेत्री सरिना मगरसँग बाँधिएको छ। फिल्ममा जुनिम र सरिनासँगै अंकीत खड्का, पुस्कर गुरुङ, प्रेम सुब्बा, अनोज पाण्डे लगायतका कलाकारहरूको अभिनय रहेको छ।

सिंहदेवी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । घले लामाले खिचेको फिल्ममा सम्राट बस्नेतको एक्सन निर्देशन रहेको छ। फिल्मको कथा,पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।

जुनिमले ‘पानीफोटो’, ‘पशुपति प्रसाद २ल् भष्मेडन’, ‘मेयर’, ‘खुस्मा’, ‘चिसो मान्छे’ र ‘परस्त्री’ लगायतका दर्जन बढी फिल्ममा कलरिस्टको रूपमा काम गरिसकेका छन्।