तेल भिसाको कति रमाइलो

काठमाडौं । निर्देशक शंकर घिमिरेको फिल्म ‘तेल भिसा’को तेस्रो गीत ‘कति रमाइलो’ सार्वजनिक भएको छ । अमेरिकामा छायांकन गरिएको गीतमा अभिनेत्री वर्षा राउतको ‘बेबी सावर’मा भएको जमघट र नृत्यलाई देखाइएको छ ।

अञ्जु पन्त र आशिष अविरलको स्वर रहेको गीतमा एक नारायण भण्डारीको शब्द तथा गायक अविरल स्वयंको संगीत छ । शिशिर खातीको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा कलाकारहरु दीलिप रायमाझी, सुशील क्षेत्री, अरुणिमा लम्साल, उषा पौडेल, विमलेश अधिकारी, अनुराग कुँवरसँगै फिल्मका मुख्य कलाकारहरु वर्षासहित विपिन कार्की, पूजा चन्द र ऋचा घिमिरेको अभिनय छ ।

आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा बुद्धि तामाङ, सुचित्रा उप्रेती, अमेरिकी कलाकारहरु फ्रान्सिस शेरमन, ज्याक बेल लगायतको पनि अभिनय छ । फिल्ममा विपिनको दोहोरो भूमिका छ ।

ऋचा घिमिरे प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा अनिल पाण्डे र शिवराज कार्की छन् भने प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता हुन् । यसमा सुशन प्रजापतिको छायांकन छ ।