कोठामा डेरा बस्ने युवाको पीडा

काठमाडौँ । साङ्गीतिक छोटो फिल्म ‘कोठा’ सार्वजनिक गरिएको छ । शनिवार काठमाडौँमा रहेको एभरेष्ट फिल्म एकेडेमीमा एक कार्यक्रमको आयोजना गरी ‘कोठा’ सार्वजनिक गरिएको हो । आर्ट घरको निर्माणमा तयार भएको उक्त साङ्गीतिक छोटो फिल्म भीष्म जोशीले तयार गरेका हुन् ।

जोशीको कथा तथा कन्सेप्टमा तयार साङ्गीतिक फिल्ममा काठमाडौँमा डेरा गरेर भविष्य खोजिरहेको युवा र युवाको मनोविज्ञानलाई प्रस्तुत गरिएको छ ।

सपना पोका बोकेर काठमाडौँ छिरेको ग्रामीण ठिटो र उसका भोगाई फिल्ममा देख्न सकिन्छ । निर्देशक जोशीले सहरमा भविष्य खोजिरहँदा गाउँमै छुटेका अतीतहरू अनि सहरमा भेटिएका र देखिएका रहरहरूको संयोजनलाई फिल्ममार्फत देखाएका छन्।

गायक तथा सङ्गीतकार प्रशान्त शिवाकोटीको आवाज तथा उनैको सङ्गीतमा सार्वजनिक ‘कोठा’मा आधुनिक र लोक दुवै लय सुन्न सकिन्छ । सङ्गीतकार शिवाकोटीले गीतमा देउडा भाकालाई पनि स्थान दिएका छन् । ‘आफू झापाली भएर पनि सुदूरपश्चिमको देउडा भाका कोठा मार्फत गाउने प्रयास गरेको छु, विश्वास छ सबैले हाम्रो नयाँ साङ्गीतिक कोसेलीलाई माया गरिदिनुहुनेछ।’, उनले भने ।

निर्देशक जोशीले गीतलाई गाउँबाट सहर आए पछिका आफ्नै भोगाइ र अनुभूतिहरूलाई सँगालेर ‘कोठा’ तयार गरेको बताए । नव–कलाकार प्रवीणकुमार पाण्डेको मुख्य अभिनय रहेको फिल्ममा सबि थापा, सरोज खड्का, कल्पना साही र शीतल पाण्डेको अभिनय रहेको छ । यसै गरी सन्तोष बिस्ट, सृष्टि एैर, सागर भुसाल र अनिल दाहालको पनि अभिनय रहेको छ ।

सरोज श्रेष्ठको छायाङ्कन, रिदेन श्रेष्ठ र धिरज अधिकारीको सम्पादन रहेको यस साङ्गीतिक फिल्ममा निर्देशक जोशी र कवि देव व्रतको शब्द सुन्न सकिन्छ ।