काठमाडौं । राजधानीको चावहिलस्थित चलचित्र विकास बोर्डमा ‘१२ औं नेपाल मानवअधिकार फिल्म फेस्टिभल–२०२४’ समापन भएको छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले गत सोमबार महोत्सवको उद्घाटन गरेका थिए भने बिहीबार ठाकुर गैरेको प्रमुख आतिथ्यतामा चार दिने यो महोत्सव सम्पन्न भएको छ ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले लिम्बु संस्कृतिमाथि बनेको फिल्म ‘नुमाफुङ’को डिजिटल गर्न अधिकार माग गरे । दर्शकदिर्घामा रहेका ‘नुमाफुङ’ का निर्देशक नबिन सुब्बाले सहर्ष स्वीकार गरेका थिए ।
चलचित्र बिकास बोर्डले नुमाफुङ सहित १० फिल्मलाई १६ एमएम रिलबाट डिजिटल फूल एचडी क्वालिटी बनाएर अर्काईभ गर्ने डिसीले थप घोषणा गरे ।
यसै वर्ष कान्स चलचित्र महोत्सबको सर्ट फिल्म समुहमा अवार्ड जितेको लघु चलचित्र ‘द म्यान हु कुड नट रिमेन साइलेन्ट’लाई उद्घाटन समारोहमा प्रदर्शन गर्दै सुरू भएको यस महोत्सबमा नेपालसहित पाकिस्तान, बंगलादेश, भारत तथा युरोपका विभिन्न मुलुकका फिल्मकर्मीहरु सहभागी भएका थिए । विहिबारसम्म चलेको यो महोत्सब चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको मुख्य हलमा आयोजना गरिएको थियो ।
यसपटक यो महोत्सबमा नेपालसहित २३ देशका ५३ वटा फिल्महरु चयन भएका थिए । मानवअधिकार चलचित्र केन्द्रले आयोजना गरेको कार्यक्रमलाई यसबर्ष चलचित्र विकास बोर्डले सहकार्य गरेको थियो ।