काठमाडौं । संयुक्त राज्य अमेरिकाको विभिन्न सहरमा नेपाली कला र संस्कृति प्रवद्र्धन गर्ने उदेश्यले साङ्गीतिक तथा हास्य व्यङ्ग्यात्मक कार्यक्रम हुने भएको छ । ‘अब नाच्छ अमेरिका २’, ‘अब हाँस्छ अमेरिका २’ र ‘अब सुन्छ अमेरिका’ कार्यक्रम आउँदो वर्ष सन् २०२५ को फेब्रुअरी तथा अप्रिल महिनामा हुने आयोजक फ्लाइ नेपाका अध्यक्ष विनोद अधिकारीले जानकारी दिए ।
उनले भने, ‘यस अगाडि गरिएको कार्यक्रमले हामीलाई हौसला मिलेको हो । हामी यसलाई अझै सभ्य र भव्य रुपमा गर्ने तयारीमा छौँ । अमेरिकाका विभिन्न सहरमा हामी प्रस्तुत हुनेछौँ ।’
‘अब नाच्छ अमेरिका २’ अन्तर्गत गायक बद्री पङगेनी, प्रताप दास, गायिका कला लम्साल, एलिना चौहान, ‘अब सुन्छ अमेरिका’ अन्तर्गत कवि प्रदीप रोदन र साइग्रेस पोखरेलले आफ्नो प्रस्तुती दिनुछन् । यस्तै, ‘अब हाँस्छ अमेरिका २’ मा मिस पवि, पवन खतिवडा, सुजीता श्रेष्ठ लगायतले प्रस्तुती दिने आयोजकले जनाएको छ ।
गायिका लम्सालले आफू लगायत सम्पूर्ण कलाकारहरूले प्रस्तुतीको तयारी गरिरहेको बताईन् । उनले भनिन्,‘हामीले अन्य स्थानमा गरिरहेको प्रस्तुती भन्दा फरक तयारी गरिरहेका छौँ । यसपटक हामीसँगै दर्शकलाई नचाउँन तयारी गरिरहेका छौँ । यो साङ्गीतिक यात्रा रमाइलो र रमणीय हुनेमा विश्वस्त छौँ ।’
आयोजकका अनुसार अमेरिकाका न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्निया लगायतका सहरमा कार्यक्रम हुनेछ ।