काठमाडौ । फाल्गुन पहिलो साता देखि फ्लोरमा जान लागेको फिल्म ‘माग्ने राजा’मा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् । निर्देशक ऋषि लामिछानेका अनुसार फिल्मको महत्वपूर्ण भूमिकाका लागि आर्यनलाई अनुबन्ध गरिएको हो । आर्यनले फिल्म ‘महाभोज’को छायांकन सकेलगत्तै ‘माग्ने राजा’को काम सुरु गर्नेछन् ।
अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’, वर्षा शिवाकोटी, शिशिर वाङ्देल, मिस पबी यो फिल्ममा यसअघि नै अनुबन्धित भइसकेका छन् । आर्यन र केदार तेश्रो पटक फिल्मको पर्दामा सँगै देखिन लागेका हुन । उनीहरुले यसअघि छक्का पञ्जाको पहिलो श्रृङखला र हालसालै रिलिज भएको छक्का पञ्जा ५ मा एक साथ काम गरिसकेका छन । छक्का पञ्जाको पहिलो श्रृङखलामा पनि आर्यनले प्रियंका कार्कीको प्रेमी बनेर कथालाई ट्विस्ट दिने भूमिका निर्वाह गरेका थिए भने ५ मा पृथ्वीनारायण शाहको भूमिकालाई गज्जवले न्याय गर्दै कथामा नयाँ मोड ल्याईदिएका थिए ।
सामिप्य राज तिमिल्सनाको पटकथा सम्बादमा रहने फिल्ममा केदार घिमिरे (माग्ने बुढा) शीर्ष भूमिका मा देखिनेछन । फिल्ममा छायांकन नरेन्द्र मैनालीको र संगीत दीपक शर्माको हुनेछ ।
करिब ३ करोडको लागतमा निर्माण हुन लागेको यो फिल्ममा कलाकार, निर्माता एवं हाल दाङको घोराही उपमहानगरपालिका–४ को वडाध्यक्षका रुपमा समेत चिनिएका मुनाल घिमिरेको लगानी हुनेछ ।