काठमाडौं । गायक तथा गीतकार सुशान्त केसी आउँदो मार्च ८ मा भक्तपुरको सल्लाघारी ग्राउन्डमा गुञ्जिने भएका छन् । सुशान्तले फागुन २४ गते शनिबार करिब साढे दुई वर्षपछि नेपालमा आफ्नो प्रस्तुति दिन लागेका हुन् । ‘बार्दली’, ‘सारङ्गी’, ‘साथी’ र ‘आमा’ जस्ता हिट गीतका गायक सुशान्तले कन्सर्टमा पुराना हिट गीतहरूसँगै नयाँ सिर्जनाहरू पनि प्रस्तुत गर्नेछन् ।
उक्त कन्सर्टबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै केसी लामो समयपछि काठमाडौं उपत्यकामा हुन लागेको कन्सर्टलाई लिएर उत्साहित रहेको बताए । उनले भने, ‘काठमाडौंमा प्रस्तुति दिनु सधैं विशेष अनुभव हो। समर्थकहरूको माया मेरो प्रेरणा हो र मार्च ८ मा सबैलाई संगीतको यो यात्रामा सहभागी गराउन उत्साहित छु ।’
कन्सर्टका लागि टिकट खल्ती एपमार्फत खरिद गर्न सकिनेछ । आयोजकका अनुसार टिकटको माग उच्च रहने भएकाले समयमै बुकिङ गर्न आग्रह गरिएको छ ।
सुशान्तका अनुसार दर्शकले सो अवसरमा नयाँ एक ट्रयाक सुन्न पाउनेछन् । उनले भने, ‘यो कन्सर्टकै लागि भनेर मैले गीत तयार गरिरहेको थिएँ ।’
कन्सर्टका लागि टिकट मूल्य साधारण ९९०, फ्यानपिट १४९९, भीआइपी २४९९ रुपैयाँ तोकिएको छ । खल्ती एपले आइतबारदेखि नै टिकट विक्री सुरु भइसकेको जनाएको छ ।
आयोजकले कन्सर्टमा करिब १५,००० दर्शक उपस्थित हुने अपेक्षा गरेको छ। कन्सर्टको सुरक्षा प्रबन्ध चुस्त बनाउन स्थानीय प्रशासनसँग समन्वय गरिएको आयोजकले जनाएको छ ।
एसकेसी इंक र द रोयल नेपाल इभेन्ट्सको संयुक्त आयोजनामा हुने यस कन्सर्टलाई भव्य बनाउन विभिन्न व्यवस्थाहरू मिलाइएको छ ।