दीपेन्द्रका मिसिङः केटी हराएको सूचना कुरा

काठमाडौं । निर्देशक दीपेन्द्र गौचन यही शुक्रबारबाट आफ्नो फिल्म ‘मिसिङः केटी हराएको सूचना’ लिएर दर्शकमाझ आउँदैछन् । ३२ वर्षअघिको फिल्म ‘उजेली’ बाट निर्देशनमा चर्चा कमाएका दीपेन्द्र ‘मिसिङः केटी हराएको सूचना’ आफ्नो लागि चुनौतीपूर्ण कमव्याक मान्छन् । दीपेन्द्र २२ वर्षपछि ठूलो पर्दाको फिल्म निर्देशनमा कमव्याक भएका हुन् ।

दीपेन्द्रका अनुसार ‘मिसिङः केटी हराएको सूचना’को कथा लेखनको सुरुवात निकै रोचक छ । ‘म कम्बोडियामा पढाउँछु । विद्यार्थीहरुले ठूलो मान्छे हुन्छु भन्ने सपना देख्नु स्वाभाविक नै हो । मैले एउटा दुईजना पात्रको कथा लेख्नु भनेर विद्यार्थीलाई अह्राएँ । उनीहरुले दुई हप्ताको समयमा कथा त लेखे, तर सबै मैले अस्वीकृत गरिदिएँ । किनकी त्यो भन्दा राम्रो कथा जन्मन्छ भन्नेमा म ढुक्क थिएँ । तर विद्यार्थीले अन्य कथा जन्माएनन् । उल्टो उनीहरुले मलाई नै ‘तपाईं नै कथा लेखेर देखाउनुहोस्’ भनेर चुनौती दिए’, दीपेन्द्र सम्झन्छन् ।

विद्यार्थीको चुनौतीलाई स्वीकारेका दीपेन्द्रले एक कथा लेखे र त्यसको सर्ट फिल्म बनाए । त्यो फिल्मले फेस्टिभलमा अवार्ड नै जित्यो ।

कम्बोडिया बसाईको २२ वर्षपछि नेपाल फर्किदा दीपेन्द्रले त्यही कथा बोकेर आए । ‘यहाँ आउँदा त्यही कथा नेपाली परिवेशमा झन सुहाउँदो र अझ प्रगाढ हुने पाएँ । मधेस र पहाडको कथा देखाउँदा राम्रो हुन्छ भन्ने लाग्यो र यो फिल्मको कथा लेखें’, उनी भन्छन् ।

दीपेन्द्रका अनुसार उनलाई स्क्रिप्ट फाइनल गर्न झण्डै तीन महिना लाग्यो । उनले अङ्ग्रेजीमा लेखेको स्क्रिप्टलाई दीपेन्द्र, अमित पोखरेल र अमितेष शाहले नेपालीकरण गरे ।

दीपेन्द्र स्क्रिप्ट अनुसार पात्र छनोट सही भएको दाबी गर्छन् । ‘हामीलाई काठमाडौंमा जन्मिएर यतै बसेको मधेसी टोन कम भएको पात्र चाहिएको थियो । त्यो पात्र हामीले नाजिरमा पायौं । पहाडी लुक्समा सृष्टि श्रेष्ठ फिट भइन् । किनकी उसलाई भेट्ने बित्तिकै म प्रभावित भए । गोरो अनुहार, पहाडी लुक्स अनि अङ्ग्रेजी बोल्ने पारा फिट लाग्यो’, दीपेन्द्र खुल्छन् ।

फिल्मको ट्रेलरमा मधेसमा ‘नेपाली’ पहिचानको कुरा उठान गरिएको देखाइएको छ । ‘मधेसको पात्र बनाए पछि रहनसहनको मात्र कुरा आउँदैन, मान्छे बौद्धिक भए पनि उसको मनमा भावना गढिरहेको हुन्छ । मधेस आन्दोलनको समयमा पहिचानको पनि कुरा आएको थियो । मधेसको जोकोही पात्रलाई ‘नेपालीपन’को भावना अवश्य नै हुन्छ । जतिसुकै हासखेल रमाइलो गरे पनि राष्ट्रियताको मामलामा उसको अडान नै हुन्छ’, दीपेन्द्रको बुझाई छ ।

दीपेन्द्र ‘मिसिङः केटी हराएको सूचना’लाई महिला केन्द्रीत फिल्म मान्छन् । ‘यो फिल्ममा मुख्य पात्र को भनेर दर्शकले छुट्याउनै सक्दैन । राम नाजिर कि सीता सृष्टि । दुवैको भूमिका बराबरी छ । त्यो बराबरीपन दिनु पनि महिलालाई प्राथमिकता दिनु हो । महिलालाई हिरोनी बनाएर कालीदेवी जस्तो अतिरिञ्जित पनि गर्नुहुँदैन । म चाहिँ नेचुरल किसिमले होस् भन्ने चाहन्छु । मेरा लागि भगवानले नाजिर र सृष्टि जुराइदिएका हुन् जस्तो लाग्छ ’, उनी भन्छन् ।

दीपेन्द्र ‘उजेली’सँगै ‘मुमिन’का लागि परिचित छन् ।