काठमाडौं । २०८२ बैशाख १२ मा प्रदर्शन हुने फिल्म ‘भूठान’का निर्माता अविरल थापाको ‘ठक्कर’ बोलको गीत युट्युव च्यानल अवेकन प्रोडक्सनबाट सार्वजनिक भएको । गीतमा पोखराका गायक विनोद बानियाँको स्वर र संगीत रहेको छ ।
गीतको म्यूजिक भिडियोमा कलाकार राजवल्लभ कोइराला, सीतादेवी तिमिल्सिनालगायतको अभिनय रहेको छ । भिडियोमा ‘सानो संसार’ निर्देशक सिद्धार्थ पुडासैनीको निर्देशन छ ।
गीतकार थापाले समाजमा बढ्दै गएको चरम निराशा, अवसाद, विग्रह, हत्या र आत्महत्यालाई केही हदसम्म भएपनि निरुत्साहन गर्न गीत तयार पारिएको बताए । थापाले यस अघि फिल्म ‘साँघुरो’को लागि ‘आउँदैछु कि जाँदैछु’, शिशिर योगीको स्वरमा रहेको ‘आफ्नै देशमा बस साथी’, प्रमोद खरेलको स्वरमा ‘यो झरीमा तिमीसँगै’, युनिटी ब्यान्डको ‘आशा अझै मरेको छैन’ जस्ता गीत ल्याइसकेका छन् । उनी फिल्म ‘बुलबुल’का निर्मातासमेत हुन् ।
समाज र जनमानसको मानसिक स्वास्थ्यप्रति दायित्ववोध गर्दै थालिएको यस अभियानमा काठमाडौं महानगरपालिका र स्वास्थ्य मन्त्रालयले पनि साथ दिएको छ ।