तीजमा जनै हराएको बाहुन

काठमाडौं । फिल्म ‘जनै हराएको बाहुन’ले रिलिज डेट लिएको छ । आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते रिलिज हुने यो फिल्म नेपाल र नेपाल बाहिर एकै दिन रिलिज हुनेछ ।

यो फिल्ममा विजय बराल र मनिष राउत मुख्य भूमिकामा छन् । आमा र छोराबीचको इमोस्नल कथा यो फिल्ममा छ ।

फिल्मको मेन थिम सार्वजनिक गर्दै अघिल्लो महिना ल्याएको मोसन पोस्टरले धेरैको ध्यान खिचेको थियो । यसले आमालाई सुखका दिन छोराले गर्ने संघर्षको कथा भन्ने संकेत गरेको थियो ।

‘जनै हराएको बाहुन’मा हिमाल न्यौपानेको निर्देशन रहनेछ । उनको यो डेव्यु निर्देशन हो । फिल्मको असोसियट निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । जो मुख्य भूमिकामा पनि छन् ।

पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । फिल्मले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई भन्नेछ ।

फिल्ममा नवीन गुरुङ छायांकार, क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक), भिएफक्स सुपरभाइजरको रुपमा मयंक निरौला रहेका छन् । फिल्म यसै वर्षको अन्त्यसम्म छायांकनमा जानेछ ।