काठमाडौं । निर्देशक ऋषिराज आचार्य फिल्म ‘द्रौपदी’ लिएर यही चैत ८ गते दर्शकमाझ आउँदैछन् । उनी आफ्नो फिल्म अहिलेसम्म बनिरहेका फिल्मभन्दा केही फरक हुने दाबी गर्छन् ।
‘पहिलाका फिल्मबाट कथाको जुन ट्रेन्ड चल्यो, त्यो ट्रेन्डभन्दा केही फरक कथा द्रौपदीमा छ’, निर्देशक आचार्य भन्छन्, ‘यो फिल्मको कथा तयार पार्न नै चार वर्ष लाग्यो । त्यो चार वर्षको अवधिमा हामीले कथाका विषयवस्तुको गहन अध्ययन गर्यौ ।’
उनले फिल्मको कथा खोज्नका लागि आफू जुम्ला, हुम्ला, डोल्पासम्म पुगेको खुलाए । ‘दर्शकलाई कथा र लोकेसनका हिसाबले केही फरक होस् भनेर हामीले मेहनत गर्यौ’, उनी भन्छन् ।
उनले फिल्मको नाम धार्मिक ग्रन्थ महाभारतको पात्र द्रौपदीसँग मिल्ने भए पनि त्यो पात्रभित्र गएर कथा नबनेको दाबी गरे । ‘द्रौपदी मौलिक कथा हो । यो धार्मिक ग्रन्थबाट लिइएको होइन । द्रौपदीमा अन्यायमा परेकी महिलाको कथा हेर्न पाइन्छ’, उनले भने, ‘न्याय पाउन ती महिलाले गरेको संघर्ष पनि फिल्ममा छ ।’
ऋषिराज आचार्यको लेखन तथा निर्देशन रहेको फिल्ममा ऋषिराज आचार्य, आश्विनी शाही,गायक रबि ओड, सुजाता तिमिल्सिना,कबिराज भाम, जेल्सन अधिकारी,बिष्णु ठडराई, प्रकाश ज्ञवाली ,सीता बौडेल,सुरज अधिकारीलगायतको अभिनय छ ।