काठमाडौं । नेपालका सांगीतिक परम्परालाई आधुनिक नवप्रवर्तनसँग जोड्दै सांस्कृतिक अनुभवहरू सिर्जना गर्न आयोजना गरिएको ‘चिल म्युजिक फेस्ट’ यही शनिबार भक्तपुरमा कन्सर्टसँगै समापन हुने भएको छ ।
पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई नेटवर्क)ले आफ्नो टिकटसँग सहकार्य गर्दै भक्तपुरको मध्यपुर थिमीस्थित हेरिटेज प्यालेसमा ‘चिल म्युजिक फेस्ट’को समापन कन्सर्ट आयोजना गर्न लागेको हो ।
भक्तपुरको कन्सर्टमा कालीप्रसाद बासकोटा एण्ड साथीभाई, रक हेड्स, झिल्के एण्ड द कम्पनी र जेम्सी एकै मञ्चमा सुनिनेछन् । यसअघि चिल म्युजिक फेस्ट झापा, रुपन्देही, काठमाडौं, र चितवनमा सम्पन्न भइसकेको छ । आयोजकका अनुसार चितवनको नारायणी किनारमा झण्डै १० हजार बढी दर्शकको उपस्थिति थियो ।
पीभीई नेटवर्कका विकेश कायस्थले लोक, रक, र आधुनिक संगीतको अद्भुत संयोजन दर्शाउने यो उत्सव नेटवर्कको उद्देश्यअनुसार नेपाली संगीतको धरोहर जगेर्ना गर्दै समुदायलाई आपसमा जोड्ने प्रयास रहेको बताए ।
कन्सर्ट हेर्न चाहने दर्शकले आफ्नो टिकटको डिजिटल प्लेटफर्म र खल्ती एपबाट टिकट लिन सक्नेछन् ।