राधिकाको सांगीतिक फूल फूल्यो फक्रियो

काठमाडौं । सञ्चारकर्मी, गीतकार तथा कवि राधिका अधिकारीको नयाँ गीत ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक भएको छ । तारा अधिकारीको स्वर रहेको गीतमा दीपक शर्माको संगीत र सविन सुवेदीको संयोजन छ ।

सार्वजनिक गीत गायिका अधिकारीको पाँचौ गीत हो । २०७२ सालमा एकल एल्बम ‘किनारा’ मार्फत सांगीतिक बजारमा आएकी अधिकारीका दर्जन बढी गीत सार्वजनिक भएका छन् । लेखनमा सामाजिक मुद्धा उठाउन गर्ने अधिकारी गीतमा पनि जीवन, मानविय संवेदना र समाजप्रति उत्तरदायी देखिन्छिन् ।

बिन्ध्यबासिनी म्यूजिकबाट बजारमा आएको गीतको म्यूजिक भिडियोमा मोडल स्मारिका ढकाल र नवनायक सागर खनालले अभिनय गरेका छन् । जीवनको मध्यबिन्दुमा बाँचिआएको जीवनप्रतिको सम्झनामा लेखिएको गीतमा ढकाल र खनालको प्रेमिल जोडी खुलेको छ ।

गीतको म्यूजिक भिडियो निर्देशन प्रहिल कार्कीले गरेका हुन् । भूपेन्द्र थापा मगरले खिचेको भिडियोको दृष्य सम्पादन माधव बेलबासेले गरेका हुन् ।