काठमाडौं । नेपाल एनिमेसन र भिएफएक्स कलाकार संघले नेपालकै पहिलो एनिमेसन चलचित्र महोत्सव आयोजना गर्ने भएको छ। चलचित्र विकास बोर्डको सहकार्यमा महोत्सवको औपचारिक घोषणा गरिएको हो। आगामी अक्टोबरमा आयोजना हुने महोत्सवको मुख्य विषय ‘मैले देखेको नेपाल’ राखिएको छ ।
संस्थाका अध्यक्ष विक्रम मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। सोही अवसरमा अध्यक्ष डीसीले महोत्सवको आधिकारिक मस्कट ‘आफ्फे’ सार्वजनिक गरेका थिए।
नेपालको राष्ट्रिय पक्षी डाँफेमा आधारित ‘आफ्फे’को सिर्जनात्मक अवधारणामा विश्वप्रसिद्ध नेपाली कलाकार अरनिकोबाट समेत प्रेरणा लिइएको आयोजकले जनाएको छ।
महोत्सवमा एनिमेटेड लघु चलचित्रहरूको प्रदर्शन, कन्सेप्ट आर्ट च्यालेन्ज तथा विभिन्न एनिमेसन प्रतियोगिता आयोजना गरिनेछन्। महोत्सवका लागि दुईदेखि १० मिनेटसम्मका एनिमेसन तथा भिएफएक्समा आधारित लघु चलचित्रको आवेदन खुला गरिएको छ। यसमा नेपालसहित विश्वभरका कलाकार, एनिमेटर, भिएफएक्स कलाकार तथा चलचित्रकर्मीले सहभागिता जनाउन सक्नेछन्।
कार्यक्रममा संस्थाले एनिमेसन तथा भिएफएक्स क्षेत्रमा रोजगारी खोजिरहेका कलाकार र दक्ष जनशक्ति खोजिरहेका कम्पनी तथा स्टुडियोलाई जोड्ने उद्देश्यले ‘करिअरबोर्ड’ नामक अनलाइन पोर्टल सञ्चालनमा ल्याउने घोषणा पनि गरेको छ।
त्यस्तै, नेपालमा एनिमेसन विषयको औपचारिक स्नातक तहको शैक्षिक कार्यक्रम सुरु गर्ने योजनासमेत सार्वजनिक गरिएको छ। यसका लागि एक प्रतिष्ठित विश्वविद्यालयसँग प्रारम्भिक छलफल भइरहेको संघले जनाएको छ।
कार्यक्रममा अन्तर्राष्ट्रिय चलचित्र तथा गेम स्टुडियोका विभिन्न परियोजनामा काम गरिरहेका १२ जना नेपाली कलाकार तथा एनिमेटरहरूको भिडियो प्रस्तुति गरिएको थियो। प्रस्तुतिले विश्वव्यापी एनिमेसन, चलचित्र, गेमिङ तथा भि।एफ।एक्स उद्योगमा नेपाली कलाकारहरूको बढ्दो उपस्थिति र योगदान उजागर गरेको आयोजकले जनाएको छ।




