काठमाडौं । जीवन सिंहको लेखन तथा निर्देशन रहेको फिल्म ‘हन्टर’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी असोज ९ गते रिलिज गर्ने जानकारी दिएको हो । निर्देशक सिंहको यो डेब्यू निर्देशन हो ।
ट्राइडेन्ट कन्सेप्टले तयार पारेको पोस्टरमा दुई मुख्य पात्रहरू अरुण क्षेत्री र प्रकाश शाहलाई आमनेसामने देखाइएको छ । प्रकाश शाहको आँखामा देखिने तीखो आक्रोश र अरुण क्षेत्रीको अनुहारमा झल्कने प्रतिशोधको भावले फिल्ममा यी दुई पात्रबीच भीषण टक्कर हुने संकेत गर्छ ।
पोस्टरमा यो केवल सामान्य झगडा नभई एकअर्कालाई सिध्याउने खेल अर्थात् हन्टर र सिकार बीचको लडाइँ भएको प्रस्ट्याउँछ । पोस्टरमा अभिनेता अरुण क्षेत्री र अभिनेत्री सुप्रज्ञा शर्मालाई शान्त र रोमान्टिक मुडमा देखाइएको छ ।
निर्देशक सिंहका अनुसार फिल्मको कथा कुनै काल्पनिक संसारको नभई समाजकै वास्तविक पात्रहरूबाट प्रभावित भएर तयार पारिएको हो । फिल्मको निर्माणमा ट्राइडेन्ट कन्सेप्टको सहकार्य छ । ममता सिंह, गोविन्द राज र राज ए भट्ट निर्माता रहेको फिल्मका सह–निर्माता मनिष चन्द, युना शाही, सन्तोष आस्ना पाल छन् । यो फिल्मका कार्यकारी निर्माता रोयल भीमसेन (भीमसेन शाही) हुन् ।
फिल्ममा अरुण, प्रकाश र सुप्रज्ञाका अलावा गरिमा शर्मा, सरोज खनाल, रमेश बुढाथोकी, रुजा राउत, रोशनी दाहाल, गीता अधिकारी, सुरज भण्डारी, टेकराज शर्मा, लालबहादुर थापागायतको अभिनय रहेको छ ।
निर्देशक सिंहकै सम्पादन रहेको फिल्ममा कृष्ण थापाको डीओपी, शुक्रराज शाहको द्वन्द्व निर्देशन, विक्रम स्वाँर र सञ्जय खिमजिमको कोरियोग्राफी, बाबुल गिरी, चक्र बम र महेश ताम्राकारको संगीत छ ।
फिल्म रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्ने भएको छ ।




