अक्षराबाट आशावादी न्यान्सी

काठमाडौँ। आगामी भदौ २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘अक्षरा’ को डबिङ कार्य धमाधम भइरहेको छ। यही क्रममा क्रममा गत शुक्रबार अभिनेत्री न्यान्सी खड्काले डबिङ गरेकी छन्।

डबिङका क्रममा पर्दामा आफ्नो अभिनय र पात्रले पूर्ण न्याय पाएको देख्दा उनी निकै उत्साहित र हर्षित देखिएकी थिइन्। पर्दामा आफ्नो काम देखेर उनी आफैँसमेत चकित परेको बताउँदै उनले आफ्नो भूमिकालाई न्याय दिन सकेकोमा खुसी व्यक्त गरेकी छन्।

सुपरहिट फिल्म ‘१२ गाउँ’ मार्फत अभिनयमा पाइला चालेकी न्यान्सीको मुख्य अभिनेत्रीका रूपमा यो नै पहिलो फिल्म हो। यसअघि उनले अभिनेता अनमोल केसीसँग फिल्म ‘बाटुलो जून’ मा पनि अभिनय गरिसकेकी छन्, जुन फिल्म अहिले प्रदर्शनको तयारीमा छ।

फिल्ममा न्यान्सीको जोडी अभिनेता सुशील सिटौलासँग बाँधिएको छ। फिल्ममा सुशील पोखरेल, पुष्कर राउत, रिस्ता बस्नेत, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको मुख्य भूमिका रहेको छ भने बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना प्रस्तुत भएका छन्।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस फिल्ममा सोनी थापा (ढुङ्गाना) को प्रस्तुति रहेको छ। विनयराज पौडेलको लेखन तथा निर्देशन रहेको यस फिल्मलाई उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले निर्माण गरेका हुन् भने कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन् ।