अस्कर कलेजमा फर्स्ट ड्राफ्ट

काठमाडौं । अस्कर कलेजमा कञ्चन संग्रौलाको लेखन तथा निर्देशनमा साउन १ देखि मौलिक नेपाली नाटक‘फर्स्ट ड्राफ्ट’ मञ्चन हुने भएको छ। कञ्चन संग्रौला र अभय बराल मुख्य भूमिका रहेको नाटक कलेजको साधना घरमा मञ्चन हुने भएको हो।

विसंगत तथा मेटा–थिएटर नाटक फर्स्ट ड्राफ्टमा अभिनयप्रति समर्पित एक युवती मीरा केन्द्रीय भूमिकामा देखिने छिन् जसले आफ्नो पहिलो कथा लेख्ने प्रयास गरिरहेकी हुन्छिन्। अनगिन्ती विचार, असंख्य प्रश्न र आत्मद्वन्द्वबीच उनी आफ्नो कथालाई आकार दिन खोज्छिन्। तर कल्पना र यथार्थको सीमारेखा विस्तारै धमिलो बन्दै जाँदा, उनले सिर्जना गरेको पात्र हिरा अचानक उनको सामु उपस्थित हुन्छ।

निर्देशक तथा लेखक संग्रौलाका अनुसार यो सिर्जनात्मक प्रक्रियाभित्र लुकेका द्वन्द्व, अस्तित्वको खोजी र कलाकारको आन्तरिक संघर्षलाई चित्रण गरेको नाटक हो। यसले हास्य, व्यङ्ग्य, मौनता, खेल, संगीत र रंगमञ्चीय प्रयोगमार्फत कलाकारको सिर्जनात्मक असुरक्षा, आत्मसंघर्ष, पहिचानको खोजी तथा अपूर्णताको सौन्दर्यलाई उजागर गर्छ।

ट्रिओ आर्ट्ससँगको सहकार्यमा प्रस्तुत नाटकमा नवीन न्यौपाने र पशुपति राई निर्माताको भूमिकामा छन्। २० साउनसम्म मञ्चन हुने फर्स्ट ड्राफ्ट बिहीबारबाहेक हरेक दिन ५ः१५ मा मञ्चन हुनेछ। बुधबार र शनिबार दुई शो मञ्चन हुने नाटकको अवधि १ घन्टा ३० मिनेट छ।