जुनी जालामा पेन्सन पट्टाका कलाकार

काठमाडौं । अभिनेता तथा निर्देशक माओत्से गुरुङ निर्देशित नेपाली फिल्म ‘पेन्सन पट्टा’ को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक गरिएको छ । भदौ २६ गते प्रदर्शनमा आउने ‘पेन्सन पट्टा’ को साउन १ को अवसर पारेर निर्माण टिमले पहिलो गीत सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएको गीतमा अभिनेता दयाहाङ राई, बुद्धि तामाङ, विल्सन विक्रम राई, गौमाया गुरुङ, माओत्से गुरुङ लगायतका कलाकारको अभिनय छ। गुरुङ समुदायको सांस्कृतिक परिवेश, भेषभूषा र मौलिक जीवनशैलीलाई कलात्मक ढंगले प्रस्तुत गरिएको गीतले दर्शकमाझ विशेष आकर्षण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

गीतमा हर्क साउदको शब्द, मनोज थापा मगरको संगीत रहेको छ भने सरुन गुरुङ, राजबहादुर गुरुङ, उषा गुरुङ र प्रिया गुरुङको स्वर सुन्न सकिन्छ ।गीतको कोरियोग्राफी कमलबहादुर गुरुङले गरेका हुन्। संगीत संयोजनमा सञ्जीव बराइलीको गितार, पोषण मगरको मादल, रत्न विश्वकर्माको बाँसुरी तथा मनीष गन्दर्बको सारङ्गी वादन रहेको छ। गीतको मिक्सिङ जन्रिक्सले गरेका छन्।

फिल्ममा पुष्कर गुरुङ, पाशुपति राई, स्वर्गीय सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई तथा लुनिभा तुलाधरलगायत कलाकारको पनि अभिनय रहेको छ।

माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको कथा तथा निर्देशन स्वयं माओत्से गुरुङकै हो। फिल्ममा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठ र केर डी कोइच लिनुचको सम्पादन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, उत्तम न्यौपानेको साउन्ड डिजाइन, नवीन श्रेष्ठको सिन्क साउन्ड, मनोज श्रेष्ठको भिएफएक्स तथा राजु याक्चाको कला निर्देशन रहेको छ।

फिल्मका निर्माता मिन कोन्मे गुरुङ (यूके), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ (हङकङ) र सपना गुरुङ हुन् भने डी।बी। गुरुङ प्रोडक्सन म्यानेजर रहेका छन्। फिल्मको वितरण अधिकार आरआर फिल्म्सले लिएको छ। हालसम्म हङकङ, अष्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतका लागि प्रदर्शन अधिकार बिक्री भइसकेको छ भने अन्य देशसँग पनि प्रदर्शनबारे छलफल भइरहेको निर्देशक गुरुङले जानकारी दिएका छन्।