मिसेस नेपाल वर्ल्डको आवेदन खुला

काठमाडौं। नेपाली विवाहित महिलाहरूको प्रतिष्ठित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२६ को आवेदन खुला गरिएको छ। आयोजक रिबन इन्टरटेनमेन्ट प्रालिले गत बुधबार ललितपुरकोे पुल्चोकस्थित द स्क्वायर होटलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको औपचारिक घोषणा गरेको हो । आयोजकले योग्य तथा इच्छुक नेपाली महिलालाई प्रतियोगितामा सहभागी भई आफ्नो प्रतिभा, क्षमता र व्यक्तित्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न आह्वान गरेको छ।

संस्थाका अध्यक्ष निशुकान्त झाले यस वर्षको प्रतियोगिता अझ भव्य, व्यवस्थित तथा अन्तर्राष्ट्रिय स्तरको बनाइने जानकारी दिए। उनले भने, ‘मिसेस नेपाल वर्ल्ड केवल सौन्दर्य प्रतियोगिता मात्र होइन, नेपाली महिलाको नेतृत्व, क्षमता, आत्मविश्वास र सामाजिक योगदानलाई विश्वसामु प्रस्तुत गर्ने अभियान हो। हामी यस संस्करणलाई अझ प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरको बनाउन प्रतिबद्ध छौंँ।’

उनका अनुसार प्रतियोगिताको पहिलो चरणको अडिसन श्रावण २३ गते काठमाडौंको नयाँ वानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा गरिनेछ। प्रतियोगितामा सहभागी हुन उचाइ वा तौलको कुनै सीमा तोकिएको छैन। न्यूनतम एसईई र एसएलसी वा सो सरह उत्तीर्ण विवाहित तथा एकल महिलाले देश विदेशबाट आवेदन दिन सक्नेछन्। आवेदन खल्ती एप वा रिबन इन्टरटेनमेन्ट प्रालिको आधिकारिक वेबसाइटमार्फत भर्न सकिने व्यवस्था गरिएको छ।

अडिसनबाट छनोट भएका प्रतियोगीहरूलाई व्यक्तित्व विकास, सञ्चारकला, नेतृत्व, सार्वजनिक प्रस्तुति, र्याम्प वाक, फिटनेस, सामाजिक उत्तरदायित्व तथा विभिन्न जीवनोपयोगी विषयमा अनुभवी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरूद्वारा विशेष प्रशिक्षण प्रदान गरिनेछ। प्रतियोगिताको ग्रान्ड फिनाले आगामी कार्तिक १४ गते काठमाडौंमा भव्य रूपमा आयोजना गरिने आयोजकले जनाएका छन्।

प्रतियोगिताका कोरियोग्राफरका रूपमा आश्विनीकान्त झा रहनेछन् भने नृत्य कोरियोग्राफी सन्दीप भुजेलले सम्हाल्नेछन्। प्रतियोगिताको समन्वय गंगा महर्जन, सम्राट शाह र बिन्दिया श्रेष्ठले गर्नेछन्। कोरियोग्राफर अश्विनीकान्त झाले प्रतियोगिताको सहभागीताबाट महिलाले विभिन्न ज्ञान हासिल गर्ने बताए।

मिसेस नेपाल वर्ल्ड २०२६ कै मञ्चबाट मिसेस नेपाल इन्टरनेशनल २०२६, एमएस इन्टरनेशनल २०२६ तथा मिसेस नेपाल कोस्मो २०२६ पनि चयन गरिनेछ। मिसेस नेपाल वर्ल्ड २०२६ की विजेताले आगामी वर्ष संयुक्त राज्य अमेरिकामा आयोजना हुने मिसेस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्।

यस वर्षदेखि आयोजक संस्थाले आफ्नो अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको विस्तार गर्दै नयाँ राष्ट्रिय उपाधि ’मिसेस नेपाल कोस्मो २०२६ समेत समावेश गरेको छ। यस उपाधिकी विजेताले म्यानमारमा आयोजना हुने प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता मिसेस कोस्मोमा नेपालको आधिकारिक प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्।